पोखरा । पोखराको सेतीनदी ड्याममा खसेर ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ ।
पोखराको लामाचौरस्थित पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) अध्ययनरत एक विद्यार्थीको क्याम्पस नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर बुधबार राति मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली जिल्लाको धनगढी स्थायी घर भई हाल पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय संगम पौडेल रहेका छन् ।
पोखरा महानगरपालिका-१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको बाँधबाट एक युवाको खसेको सुचना पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरीको कालिका गण कास्कीबाट खटिएको उद्धार टोलीले बुधबार साँझ करीब साढे सात बजे पौडेलको शब् निकालेको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिए।
क्याम्पस नजिकै पोखरा-१९ लामाचौरमा डेरा गरी बस्दै आएका पौडेल बुधबार साँझ ७ बजेर २० मिनेटमा सेतीको बाँधमा खसेको सुचना आएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उक्त सुचना पाउनासाथ सशस्त्र प्रहरीको चार जना गोताखोरसहित नौ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल पठाएको प्राप्त जानकारीमा उल्लेख छ।










