जिल्ला अदालत काठमाडौंबाट मंगलबार ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अर्को मुद्दा दर्ता तयारी भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पूर्वगृहमन्त्री लामिछाने र उनका साझेदार एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसहितविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।
रुपन्देहीमा प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । बुटवलको सहकारीमा प्रहरीले मूल अभियोग गत वर्ष नै दायर गरेको थियो ।
चितवन र पर्सामा पनि पूरक अभियोगपत्र दायरको तयारी भइरहेको प्रहरी स्रोत बताउँछ । ती जिल्लामा लगेर यसअघि नै लामिछानेको बयान प्रहरीले लिइसकेको छ । मूल अभियोगमा सामान्य ठगीको मुद्दा मात्र दायर भएकोमा पूरक अभियोगमा भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाइएको छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्ये रविको पनि हिनामिनामा संलग्ता रहेको संसदीय छानबिन समितिले पुष्टि गरेको थियो । रकम अपचलन गर्ने कम्पनीमा रविको एक लाख ८० हजार कित्ता सेयर देखिएको थियो। यस सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ छ। २०७८ पुस ७ गते गोर्खा मिडिया नेट्वर्क प्रालिको शेयर रविको नाममा कायम गरेको भेटिएको थियो ।










