पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, मेलाको नाममा पैसा बाहिर जानु भएन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, मेलाको नाममा पैसा बाहिर जानु भएन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
२०८१ माघ १० गते बिहिबार ०९:०४

पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ । पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज...

पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ ।
पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने,नजिक जानै नपर्ने त्यो अत्याधुनिक बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् ।
समुद्घाटन मन्तव्य व्यक्त गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले पोखरा उद्योग वाणिज्य संघले सातवटै प्रदेशको उत्पादन, कला–संस्कृति एवं खानाको प्रदर्शनको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले मधेशका मुख्यमन्त्रीलाई यही मेलामा स्वागत गर्न तयार रहेको पनि बताए । उनले गण्डकी प्रदेशमा दुईवटा क्षेत्रमा औद्योगिक क्षेत्र खोल्ने भनिए पनि जग्गा प्राप्ति समयमै नहुँदा काम रोकिएको र अब चाहिँ काम अगाडि बढेको जानकारी गराए । निजी क्षेत्रसँगको सहकार्य बिना समृद्धि प्राप्त नहुनेमा आफू प्रष्ट रहेको बताउँदै उनले वातावरण निर्माणमा लाग्ने प्रतिवद्धता पनि जनाए । संघीय सरकारले अध्यादेशमार्फत् निजी क्षेत्रलाई सहज हुने गरी वातावरण निर्माण गरेको र त्यसले सिथिल अर्थतन्त्र उकासिने पनि उनको धारणा थियो । उनले मेलाको नाममा स्थानीय जनताको पैसा बाहिर जानु स्थानीयको लागि न्यायोचित नभएको पनि बताए ।
‘कति मान्छे आए,कति आम्दानी भयो भन्नेतिर नलाग्नुहोस् । त्यता लाग्ने हैन । कि मनोरञ्जन मेला भन्नुप¥यो । व्यापार मेला भनेपछि स्थानीय उत्पादनको प्रदर्शन हुनुपर्छ । यहाँ मधेश प्रदेशबाट सांस्कृतिक कार्यक्रम आएको रहेछ । हामीले दुईवटा नाच हे¥यौँ । हाम्रो लागि नयाँ अनुभव भयो । यो हेरेपछि हामीले पनि अन्य प्रदेशमा एउटा स्टल राख्ने, हाम्रा उत्पादन देखाउने, यहाँको संस्कृति देखाउने र पर्यटन प्रवद्र्धन गर्ने काम गरिनुपर्छ । हामी यसमा सहकार्य गर्न चाहन्छौँ,’उनले भने,‘ हाम्रो परम्परागत शैली के छ भने, राष्ट्रिय कलाकार भनेर बाहिरबाट मान्छे बोलायो । पोखरेली जनताको पैसा आएको जति बुझाएर पठाइदियो । पिङ भन्यो, डुंगा दौड भन्यो यताको पैसा उता पठाइदियो । यस्तो हुनुहुँदैन ।’
मुख्यमन्त्रीको संवोधन यस्तो थियो ः

हामीले केही कुरा गर्नुछ, गण्डकीलाई प्रमोट गर्नका लागि । भर्खरै कोरला नाका सुचारु भएको छ । त्यहाँ एउटा अध्यागमन कार्यालय पनि सुरुवात भएका छ तर पूर्ण रुपले संचालन गर्न सकिएको छैन । त्यसलाई पूर्ण रुपले संचालन गरेर पोखराबाट कोरोला नाकासम्म जोड्ने बाटो र पोखराबाट त्रिवेणी जोड्ने बाटोलाई गुणस्तरीय सडक बनाएर संचालन गर्न सक्यौँ भने यो गण्डकी प्रदेशको व्यापारमा ठूलो फाइदा गर्छ भन्ने लाग्छ । हुन त, त्यो अध्यागमन कार्यालय हामीले संचालन गर्ने हैन । तर,अघिल्लोपटक म त्यहाँ जाँदा केही पनि थिएन । म जाँदा हावाहुरी चलेको,पानी परेको थियो । त्यहाँ जाँदा आपत पर्दा आश्रय लिने ठाउँ पनि थिएन । हावाहुरी आउँदा बस्ने ठाउँ पनि थिएन । त्यही देखेर मैले त्यहाँ एउटा अस्थायी भवन बनाउनुपर्छ भनेर बनाएको हो । त्यहाँ हामीले भौतिक संरचना बनाउन पनि सक्दैनौँ अनि अध्यागमन कार्यालय निर्माणको अधिकार हाम्रो पनि हैन । म जाँदा आपतकालीन भनेर बनाएको भवनमा अध्यागमन कार्यालय चलेको छ । त्यहाँ स्थायी संरचना बनाउनुपर्छ । कुरा चलेको छ । त्यो बन्यो भने तिब्बतसँगको ठूलो व्यापार यतैबाट हुनसक्छ ।
मैले चिनियाँ मित्रहरुसँगको भेटमा भनेको छु । अहिले भारतीयको लागि मानसरोवरको यात्रा खुलेको छ । पहिला बन्द थियो । जो भारतीय वा नेपाली धार्मिक यात्रु मानसरोवर जान चाहन्छन् । उनीहरुलाई यो बाटोबाट पठाउनुपर्छ । यो नै छोटो बाटो हो । यसलाई प्रमोट गर्नुपर्छ भनेर लागिरहेको अवस्था छ ।
दक्षिणतर्फको त्रिवेणी नाका संचालनमा छ । तर, बीचमा राष्ट्रिय निकुञ्जको बफर जोन परेकाले हामीले ८ किलोमिटर बाटो बनाउन पाएका छैनौँ । हामीले पटक–पटक लेखेर राष्ट्रिय समन्वय परिषदको बैटकका राष्ट्रिय समस्या समाधान समितिको बैठकमा यो समस्यालाई अवगत गराउँदै आएका छौँ । अहिले हामीले इआइए गर्ने अनुमति पाएका छौँ,त्यो बाटोको लागि । हामी छिट्टै गर्छौँ पनि । तर, मलाई डर लागेको छ । अस्ति भर्खर हालसालै सर्वोच्च अदालतले सरकारले बनाएको कानून खारेज गरेको छ । त्यो कानूनमा आरक्षित र राष्ट्रिय निकुञ्जभित्र संरचना निर्माण गर्ने गरी अध्यादेशमार्फत बाटो खोलिएको थियो । अहिले खारेज भएपछि कतै रोकिन्छ कि भन्ने लागेको छ । तर, हामी खोल्नेतर्फ लागेका छौँ । एउटै पालिकाको मान्छे,त्यही पालिकाको केन्द्रमा आउँदा अर्को प्रदेशको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ । त्यो बाटो खोल्न सकियो भने यो प्रदेशको आर्थिक विकास हुन्छ भन्ने मलाई लागेको छ ।

अहिले भर्खर संघीय सरकारले एउटा अध्यादेश आएको छ । अध्यादेशबाट कानूून बनाउनु राम्रो कुरा हैन तर ल्याउन नपाइने चाहिँ हैन । किनकि ,ल्याउने आवश्यकता वोध भएकाले नै संविधानमा व्यवस्था भएको हो । कुन र कस्तो अवस्थामा ल्याउने भन्ने सरकारको कुरा हो । अहिले जुन प्रयोजनको लागि सरकारले अध्यादेश ल्याएको छ, त्यसले निजी क्षेत्रलाई उत्साहित बनाएको र सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने
कानून बनाउने प्रक्रिया झन्झटिलो भएको गएको छ । एउटा कानून बनाउन २÷३ वर्ष लाग्ने भएको छ । हाम्रो पार्लियामेण्टमा त्यस्तो व्यवस्था छ । त्यसो त यो काम राजनीतिज्ञकै हो । कानून बनाउने क्रममा विषयगत समितिमा गएको विधेयक कति दिनमा पारित गर्नुपर्ने भन्ने व्यवस्था हुनुपर्ने हो । हाउसमा गएपछि वर्षौंसम्म पनि कानून बनेर नफर्कने भएकाले अध्यादेश ल्याउने बाध्यता परेकोले सरकारले अध्यादेश ल्याएको हो ।
अहिले नेपालको लागि चुनौती देखिएको छ । हामी माछापुच्छे«को अगाडि उभिएर बोलिरहेका छौँ तर माछापुच्छे«मा हामी कहीँ हिउँ देख्दैनौँ । पूरै क्लाइमेट चेन्जको असर परिरहेको छ । हामीले नगरेको गल्तिको दोषी वा सजाय हामीले भोग्नुपरेको छ । ठूला विकसित देशले गरेका गल्तिका कारण विश्वको तापक्रम बढ्दै गएको छ ।त्यसको असर यहाँ परेको छ । हिमताल सुक्ने, हिमनदीहरु सुक्ने र हिमालमा हिउँ नदिने अवस्था आएको छ । अझ डरलाग्दो कुरा त के छ भने जसले यो गल्ती गरिरहेका छन् । तापक्रम बढ्न नदिन, क्लाइमेट चेञ्जबाट परेको असर रोक्नको लागि जसले यो गल्ती गरेका छन्, तापक्रमलाई बढ्न नदिन, वातावरण सन्तुलन कायम गराउनको लागि र त्यसउनीहरुले केही रकम दिनुपर्ने गरी पेरिस सम्झौता भएको थियो । त्यसमा सबैभन्दा बढी अमेरिकाले केही रकम दिनुपर्ने थियो । हामीले अस्ति भर्खर सुन्यौँ, अमेरिकामा नयाँ प्रेसिडेन्ट आएपछि त्यो सम्झौताबाट अलग्निे घोषणा गरेका छन् । यो हाम्रो लागि डरलाग्दो छ ।
गण्डकी प्रदेशमा पहुँचको आधारमा अनुदान लगिरहेका छन् । म गण्डकी प्रदेशको मुख्यमन्त्री आएपछि मैले अनुदानलाई उत्पादनको आधारमा मात्र अनुदान दिने नीति अगाडि बढाएको छु । उत्पादन प्रक्रिया सुरु भएपछिमात्र अनुदान सुरु हुन्छ । तपाईं कुनै तरकारी खेती गर्दै हुनुहुन्छ भने,खेत जोतेपछि अनुदान सुरु हुन्छ । बिरुवा किनेपछि अनुदान सुरु हुन्छ । पशुपालन गर्न चाहुनुहुन्छ भने,बाख्रा पाल्न चाहनुहुन्छ भने खोर बनाइसकेपछि लागतमा अनुदान हुन्छ । बोका–बाख्रा किनेपछि अनुदान दिन्छौँ । दुग्धपहिला अनुदान लाने अनि बाख्रा पाल्छु भनेर पाइँदैन ।
हिजो त्यस्तो थियो । कि पहुँचकै भरमा अनुदान लैजाने एउटै बाख्राको खोर पाँच जनाले देखाउने, दुईवटा भैंसीको फोटो १० जनाले देखाउने र अनुदान लिएर जाने,आफ्ना पार्टीका कार्यकर्तालाई दिने, नजिकलाई दिने पहुँच हुनेलाई दिने । म आएपछि बन्द गरेको छु । अब पहिला पैसा ले अनि म काम गर्छु भनेर पाइँदैन । उत्पादनको आधारमा अनुदान दिने हो, तपाईंहरुसँगै जाने हो । हामीले कुन प्रक्रियाले अनुदान दिने भन्ने सोचेका छौँ ।
गण्डकी प्रदेश पर्यटनकै क्षेत्र हो साथसाथै कृषि र उद्योगलाई पनि कसरी अगाडि बढाउने भन्नेमा छ । कम्तिमा एउटा क्षेत्रमा कम्तिमा दुई वर्षमा आत्मनिर्भर हुनुपर्छ । सके गण्डकीले बेचोस्,किनेर नखाओस् । तरकारी उत्पादनमा हुन्छ कि, मासुमा हुन्छ कि, फलफूलमा हुन्छ कि, दुग्धजन्य पर्दाथमा हुन्छ कि । आत्मनिर्भर अर्थतन्त्र बनाउन हामी लागेका छौँ । हामीले दोस्रो पञ्चवर्षीय योजनामार्फत् आत्मनिर्भर अर्थतन्त्र निर्माणको योजना बनाएका छौँ । उद्योग क्षेत्रमा के हुनसक्छ ? रोजगारी पनि के हुनसक्छ ? त्यता निजी क्षेत्रले सोचोस् । गण्डकी सरकारले बनाएका नीति बाधक छ भने म कानून संशोधन गर्न तयार छु । अब यस्तो हुनुपथ्र्यो वा भइदिए हुन्थ्यो नभनौँ । के हुनुपर्छ भनेर आउनुहोस् । भेग कुरा नगरौँ । म संघको कानून चेञ्ज गर्न सक्दिन तर प्रदेशको कानून यस्तो हुनुपर्छ भन्नुहोस्,त्यो कुरा गर्न सरकार तयार छ । निजी क्षेत्रको लगानी बिना देशको अर्थतन्त्र उकास्न सकिँदैन । विदेशीको पैसा ल्याएर वा उसले लगानी गर्देला भनेर हुँदैन ।
पोखरा आद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल बितरक संघ एवं सिएसआइटी फाउण्डेनससँगको सहकार्यमा पोउवा संघले मेला आयोजना गरेको हो । मेलामा सातवटै प्रदेशका उत्पादनहरुको प्रदर्शनीका अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । सूचना प्रविधिबारेको जानकारी पस्कनु मेलाको मुख्य उद्देश्य रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको भनाइ छ ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि प्रदेश सरकार क्रियाशिल रहेको बताए । उनले पुँडीटारमा निर्माणाधीन औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको पनि जानकारी गराए ।
गण्डकी सरकार उद्योग र पर्यटनको विकासलाई विशेष जोड दिएको जिकिर गर्दै उनले उद्योगमार्फत् हुने उत्पादनले मात्र देश समृद्ध बन्ने कुरामा आफू प्रष्ट रहेको पनि सुनाए ।
पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले सूचना प्रविधिले संसारलाई साँघुरो बनाएको अवस्थामा मेला र महोत्सवले व्यवसाय प्रवद्र्धन गरोस् तथा नयाँ सूचना पस्कने ठाउँ बनोस् भन्ने आफ्नो चाहना रहेको सुनाए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले नै मेला आयोजना गरेको बताए ।
उनले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत् ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’को लक्ष्य पं्राप्तिमा समर्पित रहेको पनि प्रष्ट पारे ।
अध्यक्ष कार्कीले सरकारले हालैमात्र अध्यादेशमार्फत् निजी क्षेत्रले उठाउँदै आएका केही मागहरु संवोधन गरेको सरकारले नागरिकहरुले अपेक्षा गरेजस्तै आर्थिक समृद्धि,समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको लागि काम गरोस् भन्ने नै हाम्रो चाहना रहेको सुनाए ।
‘पछिल्लो समय देखिएको युवा पलायन र निराशालाई बेलैमा संवोधन होस् भन्ने आम नागरिकको चाहना पनि संवोधन गर्नैपर्ने देखिएको छ । राजधानी कस्तो छ भन्ने कुराले त्यो देश वा प्रदेशको अवस्था झल्काउँछ । अन्तर्राष्ट्रिय पर्यटकीय सहरको रुपमा दर्ज भएको पोखरालाई समुन्नत, सुसम्भय र भोतिक रुपले अझ राम्रो बनाउनेतर्फ काम होस् भन्ने पनि हामीले चाहेका छौँ,’उनले थपे ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृतकुमार भट्टचनले देशमा ठूला परिवर्तन भए पनि आर्थिक क्रान्ति हुन नसकेको बताए । ‘हामी स्थिर सरकार चाहन्छौँ। । नेपालको कुल ग्राहस्थ उत्पादनमा ८० प्रतिशतको योगदान गर्ने निजी क्षेत्र प्रताडित भइरहेको छ, अहिले बजार सुस्ताएको छ,’उनले भने,‘ नेपाल र गण्डकी प्रदेश सरकारले अर्थतन्त्र उकास्नेतर्फ ध्यान दिनुपर्छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसक्नु तथा गण्डकीको कान्छो जिल्ला नवलपुरसम्म पुग्ने सडक नबन्नु दुखदायी भएको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमरेश वैदारले मेला र महोत्सवमार्फत् स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने निजी क्षेत्रको आवाजलाई राज्यले सुन्नुपर्ने बताए । उनले मेला र महोत्सवको नाममा बढेको विकृति अन्त्य हुनुपर्नेमा पनि जोड दिए । उत्पादन र उद्योगसँग जोडिएका मेलाहरु उद्योग वाणिज्य संघले नै आयोजना गरिनुपर्ने पनि उनको भनाइ थियो ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनकुमार शर्माले गण्डकी प्रदेशका उद्योग÷व्यापार र पर्यटनलाई मधेश प्रदेशसँग जोड्न चाहेको बताए । उनले हवाइ मार्गबाट पनि पोखरालाई जोड्न चाहेको बताए । मधेश प्रदेशका मुख्यमन्त्री स्वयं गढीमाइ मेलाको चर्चा गर्दै भारतबाट आउने पर्यटकलाई पोखरासँग जोड्न लालायित भएको बताए । उनले पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा मुख्यमन्त्री स्वयं आउन चाहेको पनि बताए । उद्घाटन सत्रमा मधेश प्रदेशको तर्फबाट त्यहाँको सांस्कृतिक टोलीले मिथिला र थारु संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।
क्यान नेपालका अध्यक्ष सुनयना पाण्डेले नेपाल सरकारले हालै अध्यादेशमार्फत् सूचना प्रविधि क्षेत्रको लागि सहजीकरण गर्ने अध्यादेश आउनु स्वागतयोग्य भएको बताइन् ।
‘अध्यादेशले नेपालमै स्थापित कम्पनीलाई पनि विश्वस्तरको बनाउने बाटो खुलेको छ । पहिले विदेशबाट विज्ञहरु ल्याएर काम गराउन गाह्रो थियो, स्वेट इक्विटी शेयरको पनि बाटो खुलेको छ,’अध्यक्ष पाण्डेले भनिन्,‘नेपालले एआइ भनौँ वा आइओटी (इन्टरनेट फर थिङ्स) भनौँ, त्यसबारे सिक्न बाँकी छ । अध्यादेशले नलेज र कल्चर एक्सचेञ्जको लागि बाटो खुलाएको छ,हामीले काम गर्नुपर्छ ।’
मेलाको समापन समारोहपछि सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएका थिए । सो उपक्रममा रोल्पा–पोखरा सम्पर्क समाजले आफ्नो परम्परागत भूमेनाच प्रस्तुत ग¥यो । विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिले पनि माहौल ततायो । समुद्घाटनअघि विभिन्न आमा समूह, विद्यार्थीहरु,सांस्कृतिक समूह एवं टोल विकास संस्थाहरुले ¥याली र झाँकी पनि प्रस्तुत गरेका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए । उनका अनुसार शुक्रबार पुरुषोत्तम न्यौपाने,मञ्जु पौडेल,घनश्याम रिजाल,कमला गैरे,सविना गुरुङ सांगीतिक प्रस्तुति रहने उनले बताए ।

प्रकाशित मिति २०८१ माघ १० गते बिहिबार ०९:०४
प्रतिक्रिया दिनुहोस्