पोखरा महानगरमा २७५ विद्यालयमा एच.पि.भी. खोप केन्द्र रहने

पोखरा महानगरमा २७५ विद्यालयमा एच.पि.भी. खोप केन्द्र रहने
२०८१ माघ १८ गते शुक्रबार ०८:५२

पोखरा । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले माघ २२ गते देखि फागुन ६ गतेसम्म नेपाल भरी नै सञ्चालन हुने एच.पि.भी. खोप अभियान बारे जानकारी स्वास्थ्यकर्मी र पत्रकारहरुसँग छलफल गरेको छ । पाठेघरको मुखको क्यान्सरको सुरूवाती अवस्थामा,...

पोखरा । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले माघ २२ गते देखि फागुन ६ गतेसम्म नेपाल भरी नै सञ्चालन हुने एच.पि.भी. खोप अभियान बारे जानकारी स्वास्थ्यकर्मी र पत्रकारहरुसँग छलफल गरेको छ ।

पाठेघरको मुखको क्यान्सरको सुरूवाती अवस्थामा, विशेष गरी एच.पि.भी. संक्रमण हुँदा, प्रायः कुनै लक्षण र चिन्ह देखिदैनन्। तर, क्यान्सरको प्रगति भएमा यौन सम्पर्कपछि योनीबाट रगत बग्ने, तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने, तथा योनीबाट अनियमित रूपमा वा धेरै रगत बग्ने जस्ता लक्षण देखिन सक्छन्। साथै, यस्तो अवस्थामा रक्तअल्पता हुने र शरीर कमजोर महसुस हुने जस्ता समस्या पनि देखा पर्न सक्छ। यी लक्षणहरू देखिएमा तत्काल स्वास्थ्य परामर्श लिन आवश्यक हुने स्वास्थ्यकर्मीहरुको बताए ।

यस अभियानमा कक्षा ६ देखी १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखी १४ वर्ष सम्मका किशोरीहरु लाइ लक्षित गरि महानगरपालिका भित्रका २७५ वटा विद्यालय मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्दको एच पि भि खोप दिइदै छ ।

पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाहीले सुरुवाती चरणमा कोरोना भाइरस बिरुद्दको खोप संचालनको समय एक प्रकारको डर र अज्ञानताले प्रभावकारी हुन नसकेको र मानिसहरूले बुझेपछि प्रयाप्त खोप नभएको भन्दै एच पी भी खोप अभियानमा धेरै भन्दा धेरै लक्षित वर्गलाई खोपको फाइदा बारे बुझाउन स्वास्थ्यकर्मी , जनप्रतिनिधि र नागरिक अगुवाहरूलाई भूमिका खेल्न आव्हान गर्नु गरिन् ।

नेपालमा हरेक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्यांक छ । एच.पि.भी. खोप लगाएमा यो रोगबाट सुरक्षित हुन सकिन्छ र यो खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुन्छ । त्यसैले, यस एच.पि.भी.खोप अभियानमा १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरूलाई एच.पि.भी. खोप लगाउने उद्देश्य लिइएको छ । यो उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमा नै गएर कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरूलाई एच.पि.भी.खोप लगाईंदैछ । साथै विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष उमेरसम्मका किशोरीहरूलाई पनि स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रबाट यो खोप सेवा दिइनेछ ।

नेपाल सरकारले यो वर्ष देखि एच.पि.भी.खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ । त्यसैले आगामी वर्ष देखि कक्षा ६ का छात्राहरू र १० वर्षका कशोरीहरूलाई हरेक वर्ष एच.पि.भी.खोप दिइनेछ ।

संसारका धेरै देशहरूमा प्रयोग हुँदै अएको यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो । यो खोपले नेपालमा प्रयोग गर्नको लागि नेपालको औषधी व्यवस्था विभागबाट अनुमति पाइसकेको छ । त्यसैले, तोकिएका कक्षाका छात्राहरू र विद्यालय नजाने उक्त उमेर समूहका किशोरीहरू सबैले एच.पि.भी.खोप निर्धक्क भएर लगाउन सरोकारवालाहरु सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०८:५२
प्रतिक्रिया दिनुहोस्