सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
२०८१ माघ २० गते आईतबार ०५:०५

म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरण मा संलग्न रहेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिा गरेको आरोपमा प्रहरीले...

म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरण मा संलग्न रहेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ।

सहकारीको डेढ अर्ब रुपैयाँ हिनामिा गरेको आरोपमा प्रहरीले आज बिहान उनलाई म्याग्दी सदरमुकाम बेनीबाटै पक्राउ गरेको हो।

गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

आठ महिना अघि सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानबिन गरेर उनलाई दोषी किटानी गर्दै कारबाहीका लागि सिफारिश गर्फेको थियो।

सहकारीका हालका अध्यक्ष यमबहादुर रोकाले ०८१ जेठ २५ मा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएर संस्थाको आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गरेका थिए । त्यसपछि सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्ने अधिकारी तोकेको थियो ।

०६५ सालमा खुलेको सहकारीमा थापा सुरुवाती दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उनी उपाध्यक्ष थिए । एकसय १९ पृष्ठ लामो छानबिन प्रतिवेदनमा सर्वसाधारणको रकम हिनामिनामा मुख्य दोषी थापालाई नै किटान गरिएको छ ।

प्रतिवेदनअनुसार थापाले बेनी बजारमा चलाउँदै आएको निजी स्कुल बुद्ध एकेडेमीमा सहकारीबाट बिना धितो १६ करोड रुपैयाँ लगानी गरेका छन्।

थापा र लोकबहादुर पुनले सहकारीबाट १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् । यस्तै सहकारीबाट १० करोड निकालेर राजकुमार थापा, लोकबहादुर पुन, गेमबहादुर घर्ती र मनप्रसाद छजालीका नाममा जग्गा खरिद गरिएको छ । सहकारीको रकमबाट जग्गा खरिद गरेर प्लटिङ गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनीहरूले रकम निकाल्दा कुनै धितो राखिएको छैन । बिनाधितो नगद झिक्ने बेला थापाले सहकारीका कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डसमेत समितिले छानबिन गरेको थियो ।

थापाकी श्रीमती र सहकारीका सञ्चालक समितिका पदाधिकारीका नाममा १५ करोड रकम निकासा भएको छ । सहकारीकै पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङले पांच करोड, लेखासमितिका पदाधिकारी लोकबहादुर पुनले ३० लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीको बचत हिनामिनामा संलग्न सबैजसो पदाधिकारीएमाले निकट छन् । उनीहरूले सबैजसो कर्जा शून्य प्रतिशत ब्याजदरमा लिएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले गरेको आम्दानी नदेखाएरसमेत रकम हिनामिना गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिमा रहेकाहरूले परिवारका सदस्यका नाममा सहकारीको अधिकांश सेयर राखेका छन् । सहकारीमा देशमै सबैभन्दा बढी ब्याजदर पाइने हल्ला चलाएर एक जनाकै ५० लाखभन्दा बढी निक्षेप राखेर हिनामिना गरिएको प्रतिवेदनमा उल्लेख छ । सहकारीको कार्यक्षेत्र म्याग्दी जिल्ला हो । चा हजार तेन सय ८६ बचतकर्ता रहेको कुमारी सहकारीमा चार सय १८ जना मात्र सेयर सदस्य छन् । सेयर सदस्यहरू रकम हिनामिनामा संलग्नहरूकै पारिवारिक व्यक्ति मात्र रहेका छन् ।

प्रकाशित मिति २०८१ माघ २० गते आईतबार ०५:०५
प्रतिक्रिया दिनुहोस्