पोखरा २२ पुम्दिकोटमा जारी पुम्दीकोट कोट विकास समितिद्वारा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमामा श्रद्धालु भक्तजनहरुको घुइचो लागेको छ । सोमबार विजया एकादशिको दिनमा ३० हजार भन्दा बढी भक्तजनहरुले पुम्दिकोटको दर्शन गरेका छन् । जिल्लाभन्दा बाहिरबाट आउने श्रद्धालु भक्तजनहरुको संख्या बढ्दै जादा आयोजकमा उत्साह थपिएको छ । भागवत मञ्जरी राधिका दासीको मधुर वाणी श्रीमद् भागवत वाचनमा महिलाहरुको बढी आकर्षण थपिदै आएको पनि पुम्दिकोटकोट विकास समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले बताए । उनका अनुसार सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पनि पुम्दिकोटको दर्शन एवं महायज्ञको अवलोकन गरेका छन । पाण्डे सोमबार शृङ्गारिक महाआरतिमा सहभागी भएको समितिका व्यवस्थापक रुद्रनाथ पौडेलले बताए । महायज्ञमा सोमबार श्रीकृष्ण जन्मलिला बारेमा नाटक समेत प्रस्तुत गरिएको थियो भने २ सय ५० भन्दा बढी आमा समुहहरुको सहभागिता रहेको थियो । फागुन ७ गतेदेखि सुरु भएको महायज्ञ १५ गतेसम्म चल्नेछ । महायज्ञ सुरुवातको दिनदेखी नै पुम्दिकोट क्षेत्रमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको व्यवस्थापक पौडेलले बताए ।
महायज्ञमा कास्कीका छिमेकी जिल्लाहरु बाग्लुङ, तनहुँ, स्याङ्जा लगायतका दर्शनार्थीहरु समेत आउने गरेका छन । सो महायज्ञमा देश तथा विदेशबाट समेत श्रद्धालु भक्तजनहरु दर्शन गर्न आएका छन । कार्यक्रममा स्व स्फुर्त रूपमा विभिन्न संघसंस्था एवं आमा समूहहरूले भक्तजनहरूको व्यवस्थापन प्रसाद वितरण लगायत अन्य कार्यहरूमा सहयोग पुर्याउँदै आएका छन् । हरेक साँझ हुने महाआरती कार्यक्रममा भक्तजनहरूको उल्लेख्य भिड लाग्ने गरेको छ । महायज्ञको प्रत्यक्ष प्रसारण विभिन्न धार्मिक च्यानलहरू, युटुब , सामाजिक सञ्जाल र हल्लन्चोक लेकसाइड र पोखरा सभागृह चोकको ठूलो पर्दाबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ । पोखरा देखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा सञ्चालन भएको समितिका सल्लाहकार मातृका बरालले जानकारी दिए । पोखरा १७ विरौटा, बराल फिड, छोरेपाटन हुँदै पुम्दीकोटसम्म बिहान ९ बजेदेखि यातायात को व्यवस्थापन हुने बरालले जानकारी दिए । पोखरा भ्रमण वर्ष २०२५ को घोषणासँगै पोखरामा आयोजना भएको पहिलो कार्यक्रम रहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा धार्मिक अनुष्ठानका अलावा श्रीमद्भागवत वाचन तथा विभिन्न कलाकारहरू मार्फत धार्मिक नाटक झाँकी प्रदर्शन लगायत दानदाता सम्मान कार्यक्रम हुँदै आइरहेको छ।
धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यसअघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । २०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजजिको मुखारबिन्दुबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको थियो। त्यसपछि २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ आयोजना भयो । जहाँ भागवतभास्कर कमलनयन गौतमज्यूले प्रवचन दिनुभएको थियो। ती महायज्ञहरू मात्र कर्मकाण्डीय क्रियाकलाप थिएनन ती आध्यात्मिक यात्राका महत्वपूर्ण माइलस्टोन थिए, जसले हजारौं भक्तजनलाई सत्य, प्रेम, र भक्तिको मार्गमा अग्रसर गरायो। समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाइ आध्यात्मिक जागरण मार्फत हाम्रो मन,चित्त शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दिकोट बनाउने मुल उद्देश्य सहित महायज्ञको आयोजना गरिएको हो ।
यसैबीच महायज्ञमा दानराशिका आधारमा १ हजार रुपियाँसम्मका दानहरुलाई दान पेटिकामा खसालिने, रु १ हजार देखि ३ हजारसम्म दान गर्ने दाताहरूको नाम अभिलेखमा राखी रसिद प्रदान गरिने, ३ हजार १ रुपियादेखि ५ हजार रुपियासम्म दान गर्ने दाताहरूलाई प्रमाणपत्र द्वारा सम्मान गरिने, ५ हजार १ रुपियाँ देखि १० हजारसम्म दान गर्ने दाताहरूलाई फ्रेमसहितको प्रमाणपत्रद्वारा राम नमीले सम्मान गरिनेछ ।
त्यसैगरी १० हजार १ रुपियाँदेखि रु २५ हजारसम्म दान गर्ने दाताहरूलाई फ्रेमसहितको प्रमाणपत्र तथा उक्त रकम दाताहरुको नाम शिलालेखमा लेखिनेछ। त्यसैगरी २५ हजार १ रुपियादेखि ५० हजारसम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित भजन किर्तनले स्वागत गर्दै मञ्चबाट नाम घोषणा गरिनेछ। ५० हजार १ रुपियाँदेखि १ लाख सम्म दान गर्ने दाताहरुलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिनेछ भने १ लाख १ रुपियाँ देखि २ लाख २५ हजार ९९९ सम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित आकर्षक मायाको चिनो प्रदान गरिनेछ । २ लाख २५ हजार रुपियाँदेखि ५ लाखसम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित परिसरभित्र रहेका कुनै एक शिवलिङ्ग उनको नामबाट स्थापित गरिनेछ। त्यसैगरी ५ लाख रुपियाँदेखि माथि दान गर्ने दाताहरूलाई आयोजक समितिको निर्णयले उचित सम्मान दिने कुरा समितिका व्यवस्थापक रुद्रनाथ पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्










