पोखरामा कोटीहोम निर्विवाद रुपमा संचालन गर्न प्रत्यक्ष रुपमा सम्बन्धित दुई पक्ष सहमत देखिएका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा पोखरास्थित सुरक्षा निकायहरुका जिम्मेवार अधिकारीहरुको उपस्थितिमा आज भएको छलफलमा पोखरामा कोटीहोम निर्विवाद रुपमा संचालन गर्न आयोजक मानव सेवा फाउन्डेशन र पोखरा महानगरपालिका सहमत भएका हुन्।
बैठक सकिए पछि आयोजक मानव सेवा फाउन्डेशनका संरक्षक पुराण बाचक विजय भण्डारी उर्फ ‘बालयोगेश्वर विजयकृष्ण मूर्तिले पोखरामा संचालन हुन लागेको कोटी होम विवाद समाधान गर्न पाँच सदस्यीय वार्ता समिति गठन भएको जानकारी दिए।
कोटीहोमका प्रमुख पुराण वाचक बालयोगेश्वर विजयकृष्ण मूर्तिले जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पोखरा महानगरका दुई जना र आयोजक मानव सेवा फाउन्डेसनका दुई जना सदस्य रहने गरी समिति गठन भएको जानकारी दिईरहन्दा पोखरा महानगरपालिकाका प्रबक्ता मोतिप्रसाद तिमिल्सिनाले त्यस्तो कुनै वार्ता समिति गठन नभएको दाबी गरे। महानगरका प्रबक्ता तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पोखरा महानगरका दुई जना र आयोजक मानव सेवा फाउन्डेसनका दुई जना सदस्य रहने गरी बिबाद समाधान समिति निर्माणको प्रस्ताब मात्र भएको जानकारी दिए।
पोखरा २५ को वडाध्यक्ष समेत रहेका प्रबक्ता तिमिल्सिनाले आजको बैठकमा भएको वार्ता समिति निर्माणको बारेमा भोलि मंगलबार बस्ने पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्ने बताए।
पोखराको लेकसाइड बाराहीघाटस्थित नेपाल ट्रस्टको जग्गामा कोटीहोम हुन नहुने कुरामा महानगर अडिग रहेको जानकारी दिंदै प्रबक्ता तिमिल्सिनाले त्यस स्थान बाहेकका अन्य ठाउँमा कोटीहोम गर्न दिन महानगर तयार रहेको संलेट दिए।
बैठकमा सहभागी विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय परिषद्का अध्यक्ष शंकर खरालले पोखरामा कोटीहोम निर्धारित मितिमा नै गर्ने कुरामा महानगर सहमत भएको जानकारी दिंदै कुन ठाउँमा गर्ने भन्ने बारेमा बिबाद समाधान समितिले निर्णय लिने स्पस्ट पारे।
मानव सेवा फाउन्डेशनले पोखरामा बैशाख १७ गतेदेखि गर्ने भनिएको कोटीहोम हुने सुनिश्चित त भएको छ नै, अहिले तयारी भैरहेको बाराहीघाटमा नै हुने हो कि अन्यत्र हुने हो ? त्यो भने बिबाद समाधान समितिले तय गर्ने प्राप्त समाचारमा जनाइएको छ। कोटीहोम संचालन गर्ने तथ्य सार्वजनिक भएसंगै देखिएका विवादहरु पनि सोही समितिले समाधान गर्ने पोखरेली जनताहरुले अपेक्षा गरेका छन्।










