चीनको बुहानबाट उत्पत्ति भएको कोरोना भाइरसको कारण विश्व नै आक्रान्त बनेको छ । अहिले हाम्रो देशमा कोभीड–१९ को दोस्रो लहर चलिरहेको छ ।
यसका कारण देशमा लकडाउन भएको छ । कोरोनाका कारणले सयौँ मानिसको ज्यान गएको छ भने हजारौँको सङ्ख्यामा सङ्क्रमण फैलिएको छ । लकडाउनका कारण सरकारी कर्मचारी बाहेक अरु सबैको दैनिकी दयनिय बन्दै गएको छ । कृषि गरिरहेका किसानको दुध, तरकारी, फलफूल बिक्री नभएर बारीमै कुहिएको छ ।
यातायातका साधन ठप्प हुँदा हजारौँ चालकहरु बेरोजगार भएका छन् । संस्थागत (निजी) विद्यालयमा अध्यापन गराउने हजारौँ शिक्षकहरु बेतलबी बनेका छन् । महङ्गो सटर भाडामा लिएर व्यवसाय गरेका व्यवसायीहरु पनि कोरोनाको मारमा परेका छन् । यस महामारीका कारण सबै आम्दानीका स्रोत ठप्प भएपनि गरिब जनताले सरकारलाई भने खुरुखुरु कर तिर्नुपर्ने बाध्यता छ । नागरिकहरु दुःखमा परेका बेला सरकारले अभिभावकको भुमिका निभाउनु पर्ने बेला उनीहरु सत्ता र कुर्चीको खेलमा लागिरहेका छन् ।
गरिब जनतालाई घरभित्र थुनेर राजनीति गरिरहेका छन् । साहुको ऋण, बैङ्कको किस्ता, भोकमरीले गर्दा गरिब जनताले कोरोना भन्दा पनि ठूलो भाइरसको सामना गरिरहेका छन् । सत्ता र कुर्चीमा बसेका मान्छेले लकडाउनको अवधि लम्बाइरहेका छन् तर यसको कारणले धेरै जनता अकालमा मरिरहेका छन् । सवारीसाधन ठप्प हुँदा सुत्केरी तथा अन्य बिरामीहरुले अस्पत्तालसम्म जान नपाउँदा र औषधी नपाउँदा अकालमै ज्यान गुमाएका छन भने अर्कोतिर वर्षात् सुरु भएसँगै विभिन्न ठाउँमा बाढी, पहिरोले गर्दा धेरै धनजनको क्षति भएको छ ।
बाढी पहिरोका कारण धनजन गुमाएका परिवारलाई राहत लिएर जान पनि लकडाउनले गर्दा सहज छैन । दिनरात पानी परेको छ, बाढी पीडितलाई ओत लाग्ने ठाउँ छैन यस्तो बेलामा सरकार कानमा तेल हालेर बसेको छ । अरु मानवरुपी आत्मा भएका मानिसहरु आफ्नो व्यक्तिगत सहयोग लिएर बाढीग्रस्त क्षेत्रमा गई सहयोग गरेको सुन्न पाइन्छ तर सरकारले केही गर्न सकेको छैन ।
लकडाउन र कोरोनाले नेपालको शैक्षिक क्षेत्र पनि ठप्प भएको छ । हजारौँ विद्यार्थीको जीवन अन्धकारमा धकेलिएको छ । गत वर्ष ३ महिना मात्रै विद्यालय सञ्चालन भयो तैपनि परीक्षा दिन नपाइकन लकडाउन सुरु भयो । सानासाना बालबालिकाहरुले कलम समाउन पनि बिर्सिसके, अलि ठूला विद्यार्थीहरु पनि यतिकै भौतारिएर मोबाइलमा बिग्रिरहेका छन् । सरकारले दुई वर्ष हुँदा पनि शिक्षामा कुनै बैकल्पिक विधिको प्रयोग गर्न सकेको छैन । कोरोनाको तेस्रो लहर पनि आउँदैछ भन्छन् यसरी शिक्षा प्रदान गर्ने दोस्रो विकल्प नखोज्दा देशको शैक्षिक प्रणाली ध्वस्त हुँदै गएको छ । पढेर राम्रो र सफल जिन्दगी बिताउने सपना चक्नाचुर भएका छन् । शैक्षिक प्रणालीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरोकारवाला निकायले बेलैमा ध्यान पु¥याउनु पर्छ नत्रभने देश गम्भीर समस्यामा फस्न सक्छ ।
कोरोना सङक्रमण रोकथामका लागि सबैलाई खोपको व्यवस्था गरी सबै ठप्प भएका शैक्षिक संस्था, व्यापार, यातायात सबै खोल्नुपर्छ । बन्दले हरेक कुराको समाधान हुँदैन । हामी सबै जनता पनि सचेत बन्नुपर्छ । भीडभाड नगरी सेनिटाइजर, माक्सको राम्ररी प्रयोग गरी सामाजिक दुरी कायम गरी लकडाउन खोल्न पहल गर्नुपर्छ ।










