बाढी पहिरोका ३ हप्ता: गण्डकीमा ४ जनाको मृत्यु

बाढी पहिरोका ३ हप्ता: गण्डकीमा ४ जनाको मृत्यु
२०७८ असार १९ गते शनिवार ०७:५३

अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढिको कारण ३ हप्तामा देशभर ३४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले दिएको तथ्यांकअनुसार गण्डकी प्रदेशमा मात्र ४ जनाको मृत्यु भएको हो । तनँहुमा २, कास्कीमा १ र...

अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढिको कारण ३ हप्तामा देशभर ३४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले दिएको तथ्यांकअनुसार गण्डकी प्रदेशमा मात्र ४ जनाको मृत्यु भएको हो ।
तनँहुमा २, कास्कीमा १ र गार्खामा एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढिपहिरोबाट सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्युु भएको छ । डोटीमा ४, रोल्पामा ३, चितवन, प्युठान र रौटहटमा २÷२ जनाको मृत्यु भएको हो । ललितपुर, सप्तरी, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कालिकोट, पाचँथर, बझाङ र बाजुरामा १÷१ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १९ जना पुरुष, ९ महिला र ६ बालबालिका छन् । बाढीपहिरोमा परी २४ जना भने अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइराखेको छ । बाढीपहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, ६ जना बालक र ३ जना बालिका छन् ।
उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५÷५ जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३÷३ जना, जुम्ला र गोरखामा २÷२ जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १÷१ जना छन् ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।
सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा एक जना रहेका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ ।
उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८÷८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४÷४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।
बाढीको कारण ३ सय ९७ वटा घर डुबानमा परेका छन् । ४ सय ९१ वटा घर, ८४ वटा गोठ, ३८ वटा पुल, ३ वटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
१ हजार ४३ वटा घरका ४ हजार ९ सय ५५ जना मानिस विस्थापित भएका छन् भने ८ सय २ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा ३ सय ३० वटा विपद्का घटना भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७८ असार १९ गते शनिवार ०७:५३
प्रतिक्रिया दिनुहोस्