कर्मचारी भन्छन् : मन्त्री नहुँदा रिल्याक्स मुडमा छौं ।
गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा आइतबार ५ जनाको समूह प्रवेश ग¥यो । हातमा खादा लिएर पुगेका उनीहरु स्याङजाबाट आएका थिए । उद्देश्य थियो, ‘मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग भेटघाट गर्ने, बधाइ दिने ।’
सचिवालयसँग ‘५ मिनेट’को समय माग्दै उनीहरु मुख्यमन्त्री नेपालीको कार्यकक्ष प्रवेश गरे । उनीहरु भित्र पस्न नपाउँदै अर्को टोली त्यहाँ आइपुग्यो । सचिवालय कर्मचारीहरुलाई भेटको समय मिलाउन हम्मेम्मे परिरहेको थियो ।
केही समयपछि सभाहलमा स्वास्थ्यसम्बन्धी एक बैठकमा भाग लिन मुख्यमन्त्री कार्यकक्षबाट बाहिरिए । तर, उनको कार्यकक्ष बाहिर उभिएका मान्छेहरु उनलाई पछ्याउन छाडेनन् । बैठक कक्षसम्मै उनलाई भेट्नेहरुको भिड बन्यो ।
बैशाख २९ गते मुख्यमन्त्री पदमा नियुक्त भएका नेपालीलाई यतिबेला बधाइ थाप्न भ्याइनभ्याइ छ । उनलाई बधाइ दिन गण्डकी प्रदेशकामात्रै नभई लुम्बिनी प्रदेशबाट पनि कार्यकर्ता आइरहेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । ‘मुख्यमन्त्री ज्यूलाई भेट्न दिनमा २ सयभन्दा बढी आउनुहुन्छ । बिहानैदेखि भिड लाग्छ,’ एक कर्मचारीले भने ।
मुख्यमन्त्रीसँग भेट्न आउनेहरु प्रायः ज्ञापनपत्रका लागि आउने गरेको ती कर्मचारीले बताए । ‘बजेटको समय हो । कोही योजना माग्न आउँछन्, कोही कुनै सार्वजनिक विषयमा ध्यानाकर्षण बुझाउन आउँछन्,’ उनले भने, ‘दिनमै धेरै आउने भएकाले अहिले त आउनेहरुको तथ्यांक पनि राख्न छोडिएको छ ।’
मुख्यमन्त्री कार्यालयमा भिडभाड हुँदा भने अन्य मन्त्रालय सुनसान छ । सरकार गठन भएको लामो समयसम्म मन्त्रिमण्डल विस्तार र जिम्मेवारी बाँडफाँड हुन नसक्दा अन्य मन्त्रालय सुनसान भएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको सडक तथा भवन महाशाखाका सिडिई राम पराजुली गफ्फिए, ‘मन्त्रीज्यू हुनु भएको भए असिनपसिन हुने बेला हो । मन्त्री ज्यू नै नभएपछि रिल्याक्स मुडमा छौं ।’
गण्डकीमा सत्ता किचलोका कारण मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन भने भएका मन्त्रीसमेत बिना विभागीय रुपमै चित्त बुझाउन बाध्य छन् । बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी नतोकिएको र रिक्त मन्त्रालयमा नियुक्ति हुन नसक्दा अन्य मन्त्रालय सुनसान देखिएको हो ।
गण्डकी प्रदेशमा ११ मन्त्रालय छन् । जसमध्ये सामाजिक र स्वास्थ्यबाहेक बाँकी सबै मन्त्रालय मुख्यमन्त्री नेपालीले आफैंसँग राखेका छन् । मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी नतोकिँदा महत्वपूर्ण निर्णयहरु हुन पनि ढिलाइ भइरहेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका एक कर्मचारी बताउँछन् ।
मन्त्री बिनाको मन्त्रालय सम्हाल्नु पर्दा आफूहरुलाई पनि कार्यभार नपरेको उद्योग, वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत शिव परियारको भनाइ छ । ‘मन्त्री ज्यू हुनु भएको भए फाइल मिलाउनेदेखि टिपोट गर्नेसम्मको प्रेसर हुन्थ्यो । अहिले त्यो काममा कमी आएको छ,’ उनले भने ।
बैशाख २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा ४ जना मन्त्रीले बिना विभागीय मन्त्रीमा सपथ खाएका थिए । बिना विभागीय मन्त्रीमा सपथ खाएको १५ दिनपछि सामाजिक विकास मन्त्रालयमा कुमार खड्का र मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
विनाविभागीय मन्त्री बनेका हरिशरण आचार्य र राजीव गुरुङ ‘दीपक मनाङे’ले अझै जिम्मेवारी पाउन सकेका छैनन् । जनता समाजवादी पार्टीबाट मन्त्री बनेका आचार्य सुरुमा अर्थमन्त्रालयमा दाबी गरेका थिए । तर, उक्त मन्त्रालय नपाउने भएपछि अर्का सांसद धनमाया लामालाई पनि सपथ खुवाएपछिमात्रै आफूले जिम्मेवारी सम्हाल्ने अडान राख्दै आएका छन् । स्रोतका अनुसार उनले भौतिकबाट टुक्रिएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पाउने निश्चित छ ।
अर्का विना विभागीय मन्त्री मनाङे भौतिक मन्त्रालयमै आफ्नो दाबी छोडेका छैनन् । आफूले भौतिक मन्त्रालय पाउने कांग्रेससँगको सहमति पछि नै गठबन्धनलाई साथ दिएको र उक्त मन्त्रालय नदिने आफूले मुख्यमन्त्री पद पाउनुपर्ने तर्क अघि राख्दै आएका छन् ।
प्रदेशमा अर्थ र भौतिक २ ठूला मन्त्रालयमा कुरा नमिल्दा भागबन्डा मिलाउन केन्द्रीय टोलीलाई जिम्मेवारी दिइएको छ । ‘खासमा यहाँको समस्या यहाँ नै सल्टाउनुपथ्र्यो । केन्द्रीय नेतृत्वलाई जिम्मेवारी दिइसकेपछि त्यहाँको निर्णय नआउँदासम्म कुनै निर्णय हुन नसक्ने देखियो,’ एक मन्त्री भन्छन्, ‘केन्द्रले डिसिजन दिएपछि अरु कुरा मिल्छ ।’
मन्त्रालय बाँडफाँडमै कुरा नमिल्दा बजेटमाथिको छलफलसमेत हुन सकेको छैन । मुख्यमन्त्री पदमा नियुक्त भएको अर्को दिन नीति तथा कार्यक्रम र तेस्रो दिनमा बजेट पेश गरेका नेपालीले असार ४ गते विश्वासको मत प्राप्त गरेका थिए । त्यसपछि रोकिएको सदन अझै सुरु हुन सकेको छैन ।
ढोरपाटन न्युजबाट साभार










