गण्डकी प्रदेश सभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवरोध जारी राखेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।
यसअघि आजै बसेको पहिलो बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। कांग्रेस नेतृत्वको गठबन्धन सरकारले बहुवर्षीय योजनाहरुलाई निरन्तरता नदिएको, स्रोत सुनिश्चित भएर अघि बढेका योजना काटिएको भन्दै बजेटमाथिको छलफलमा एमालेले अवरोध गर्दै आएको छ।
मुख्यमन्त्री पोखरेललाई आज बिहानै भेटेर राखेको १० बुँदे माग पूरा नभएसम्म बैठक चल्न नदिने एमालेको अडान छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरेको भन्दै एमालेले विरोध गर्दै आएको छ। यसअघि असार २७ र २८ गतेको संसद बैठक पनि प्रदेश सरकारले रकमान्तर गरेको भन्दै एमालेले अवरुद्ध गरेको थियो ।










