राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन हुनुभएको छ । एमालेका उम्मेदवार सांसद इन्द्रधारा विष्टले सर्वसम्मत चयन गर्न इच्छा देखाएपछि शाही सभापति बन्नुभएको जनाईएको छ ।
समितिमा सत्तापक्षीय गठबन्धनका सात र एमालेका छ जना छन् । गठबन्धन दलको बहुमत रहेकाले सांसद शाही समिति सभापति बन्ने पक्का थियो ।सार्वजनिक लेखा समितिको सदस्य रहेका शाहीलाई सभापति बनाउनकै लागि प्रदेश मामिला समितिमा ल्याइएको थियो । सभापति चयन भएका शाहीले मंगलबार सभामुख नेत्रनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यसअघि उक्त समिति सभापतिमा जनमोर्चाकै सांसद कृष्ण थापा रहनुभएको थियो । मुख्यमन्त्रीलाई गत ४ असारमा विश्वासको मत नदिएपछि उहाँलाई पार्टीले कारबाही गरेको थियो ।
प्रकाशित मिति २०७८ साउन ५ गते मङ्गलबार ०३:५४