म्याग्दी – म्याग्दीमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जीप दरबाङ–धारपानी सडकको बाटिकाको भीरमा दुर्घटनामा परेको हो ।
जीप दुर्घटनामा परेर धवलागिरि-७ ताकमका २७ वर्षीय विशाल सुनारको ज्यान गएकाे म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । जीप दुर्घटनामा परेर घाइते भएका आठ जनालाई उद्धार गरेर अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको र उनीहरुको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
घाइतेहरुको परिचय भने खुल्न बाँकी रहेको प्रनाउ राईले बताउनुभयो । दुर्घटनामा परेर जीपका चालक समेत घाइते भएका प्रहरीले जनाएको छ । जीप सडकबाट खसेर सल्लाको रुखमा अड्किएको छ ।
दुर्घटनामा परेर ज्यान गुमाएका सुनारको शव पोस्टमार्टमका लागि सदरमुकाम बेनीतर्फ ल्याउने तयारी गरिएको प्रनाउ राईले बताउनुभयो ।










