गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया गुरुङले प्रदेशका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने बताउनुभएको छ। नेकपा माओवादी केन्द्र बागलुङले सोमबार गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै उहाँले यही आर्थिक वर्षदेखि ११ जिल्लाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने बताउनुभएको थियो ।
नागरिकको सुरक्षाका लागि प्रदेश सरकारले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ,’ उहाँले भन्नुभयो –‘गण्डकी प्रदेशका ११ जिल्लाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा सरकारले गर्छ ।’कोरोना भाइरसको महामारी चलिरहेको बताउँदै गण्डकी प्रदेश सरकार नागरिकलाई खोप उपलब्ध गराउन लागि परिरहेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले जनयुद्धमा परेर घाइते तथा अपांग भएकाहरुको अविलेखिकरण गरी परिचय पत्र वितरण गर्ने योजना रहेको समेत उहाँको भनाई थियो ।
अहिले राजनीतिक र बैचारिक रुपले आफूहरुले जितेको बताउँदै संविधान जोगाउने शक्तिहरू सरकारमा भएकाले अबको पस्थिति अनुकुल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य कुशुम बुढा मगर, सदस्य राजीव घिमिरे, जिल्ला कमिटी सदस्यलगायतको उपस्थिति रहेको बागलुङ नगरकमिटी संयोजक इन्द्र केसीले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन नेकपा माओवादी केन्द्र बागलुङ कार्यालयका सचिव चन्द्र थापा ‘शिखर’ले गर्नुभएको जनाईएको छ ।










