बुर्तिबाङ – स्व भन्नाले आफै रोजगार अर्थात रोजगारी भन्नाले काम धन्दा गरी आत्मनिर्भर बन्ने अवस्था बुझिन्छ । आफै सिर्जना गर्न सकिने रोजगारीका अवसर, सम्भावना र चुनौतिका चाङहरुलाई नियाल्ने हो भने यसको लहरो गाउँका साना तिना कुन्दुरा देखि देशको कानुन, नीतिनिमार्ण र राज्य संचालनको तौर तरिकाको पिँधसम्म नै पुग्नु पर्छ । समृद्ध भन्नले सम्पन्न भन्ने बुझिन्छ । सम्पन्न शब्दलाई सीमाङ्कन गर्न गाह्रो छ । नेपालमा वि.सं. २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको छ । यसले देशका आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्ग, किसान, मजदुर, सुकुम्बासी र साना व्यवसायी सवैलाई सेवामुलक रोजगार कार्यक्रम संचालन गर्न सहुलियत ऋण प्रदान गर्दै आएको छ । रोजगार स्थापना गर्न नेपालमा जे जति काम कार्य भएका छन् ती बालुवामा पानी खनाए सरह हुदै आएका छन् । हुन त केही पनि नभएको पनि होइन तर जति हुन पर्ने हो त्यो अवश्य नभएको नै हो । यसको कारण यहाँको चुनौतिका थुप्राहरुले घेरिएका थोरै सम्भावनामा घुन पुत्ला लागेर नै हो ।
हाम्रो देशलाई सात प्रदेशमा बाडिएको छ । स्रोत, शक्ति, साधनको बाडफाड र विकासलाई विकेन्द्रीकृत गर्नको लागि बाडिएको प्रदेश सरकारलाई समृद्ध बनाउन यहाँका युवाहरुलालाई रोजगारको व्यवस्था गर्नै पर्छ । युवाहरुलाई स्वरोजगार बनाउनका लागि थुप्रै सम्भावना छन् । सम्भावना सँगै चुनौति त आउँछन् नै । ती चुनौतिलाई तह लगाउदै सम्भावनाको खोजी गरी लागु समेत गर्न आवश्यक छ । मेरो विचारमा समृद्ध प्रदेशको कल्पनालाई साकार पार्न युवाहरुलाई बैदेशिक रोजगार होइन यसलाई निरुत्साहित गर्दै देशमै केही गरौँ भन्ने अभियान संचालन गर्नु पर्छ । विदेशमा रहरले मानिस जादैन । कहरले सपना बोकेर विदेश गएका सयाँै युवा बाकसमा सपना बनेर स्वदेश भित्रिएका छन् । एअरपोर्टमा नेपाली होनहार युवाको लास उठाउन कापिरहेका हातले सानो तिनो जागिर नेपालमै पाए कलिला छोरा छोरी जहान परिवार छोडेर नजाने प्रण गर्दछ, तर विहान बेलुकाको हात मुख जोर्न फेरी विदेशिन बाध्य हुन्छन् । यस्तो अवस्थालाई रोक्न राज्यसत्तामा बस्ने, नेतृत्व गर्ने, राज्यका निकायहरुले सोच्नै पर्छ । अब नसोचे कहिले सोच्ने, अब नगरे कहिले गर्ने, बेला ढिपिक्क डिलमा पुगेको छ ।
म त भन्छु देशमा सम्भावनाका थुप्राहरु अवसर नपाएर सडेका छन् । खोजिएको छैन । हामी प्याज रोपेर पिपलको आशा गर्छौँ, धान रोप्दैनौँ धनसार खोतल्छौँ, करेसाबारी कोर्तदैनौँ अर्गानिक तरकारी खोज्छौँ , सिप आर्जन गदैनौँ सिपाती भइदिन्छाँै, अनि हामी समृद्धको सपना जप्दै हिड्छौँ । रोपे के फल्दैन देशमा, गरे के हुदैन यहाँ । त्यसैले पहिलो समृद्धको एक महत्वपूर्ण पाटो कृषि जगत नै हो । कृषिमा आधुनिकीकरण गर्नुपर्छ भनेर विद्यार्थीकालदेखि बुढेसकालसम्म पढेकै हो खै आधुनिकीकरण ? कस्तो हुन्छ ? देखेनौँ । अव किताबका पानामा होइन वास्तविक किसानलाई आधुनिकीकरणको स्वाद चखाउन प¥यो । कृर्षिमा फट्को मारेको देशले के कसरी उन्नती ग¥यो त्यो उपाय कही कतै किताबका पनामा पनि पढाइएन । अलिअलि सिको गरेर सामुहिक खेती प्रर्णाली गर्नु पर्छ त भनियो त्यो त आसेपासे, छेउछाउकाले ल्याए चापाए सके । बारीमा खुर्सानीको ढेडी फल्दैन कागजमा ठूला ठूला कृषि प्लट देखाएर अनुदान झ्वाम्म पारियो अनि कृषि आधुनिकीकरणको माला लगाएर सवैलाई नारा लगाउन भनियो । वास्तविक कृषक तालुमा आलु फलाएर नुनिला पसिना घुटुक्क निल्दै हिडेको छ । कहाँ खोज्ने समृद्धि ।
रोप्न प¥यो कृषि मन्त्रालयको नेतृत्वमा किसानका वास्तविक समस्याहरु । खोज्न प¥यो वास्तविक किसानका सम्भावनाका सपनाहरु अनि देखाउन प¥यो आफै अनुकरणीय बनेर । अनि पो रोजगारीका आयामहरु थपिएलान नत्र त जुन गोरुको सिङ छैन उसैको नाम तिखे भन्ने उखान सावित होला नि । कृषिमा आधुनिकीकरण गर्ने नै हो भने कृषि हब बनाऔँ । कृषि उत्पादन गर्ने एउटा कम्पनी खोलाँै, कृषि सामग्री खरिद विक्रीको अर्को कम्पनी खोलौँ । खपत हुनेलाई देशमा खपत गरौँ खपत भएन भने विदेश सप्लाई गर्ने अर्को कम्पनी खोलाँै । कम्पनीमा काम गर्ने कामदार क्षमता अनुसार लिऔँ अनि पार्दशिताका साथ नो वर्क नो पे लागु गरौँ । रोजगारीको सिर्जना हुने ठाउँ यो पनि हुनेछ । यस्ता कम्पनीका शाखा, उपशाखाहरुलाई प्रदेशका प्रत्येक स्थानीय सरकारका कार्यालयसम्म पु¥याऔँ त त्यहाँ रोजगारीका अवसरहरु कति सिर्जना हुनेछन् । कम्पनीकै मातहतमा रहेर कृषि अनुसन्धान गर्ने, कृर्षि प्रविधिको आविष्कार गर्ने, प्रविधिलाई नेपाली माटो सुहाउदो परीक्षण गरी प्रयोग गर्ने वातावरण मिलाऔँ त अवश्य पनि प्रदेशका युवाहरु रोजगारमा सामेल हुनेछन् । आफै साना तिना कृषि उद्योग खोल्ने छन् र प्रदेशलाई कृर्षिमा समृद्ध प्रदेश बनाउने छन् ।
अर्को सम्भावनाको क्षेत्र हो जडिबुटी । नेपालको जडिबुटी भारतले नुनको मूल्यमा लगेर हामीलाई सुनको मूल्यमा ओखती बेचेको छ । हाम्रै आगनमा फलेको ओखती सडेर गएको छ । खै त्यसलाई न हाम्रो देशले चिन्न सक्यो न त हामी युवाले चिन्याँै । यही नचिएका जडिबुडि चिनौँ र स्वरोजगारका सम्भावनाहरुका ढोका खुलाऔँ । मुस्ताङ, मनाङ, बागलुङ, म्याग्दी, तनहूँ….. कति छन् हिमाली जडिबुटी उत्पादनका क्षेत्रहरु । पाखामा नउमारिएका जडिबुटीहरुलाई बारीमा उमारौँ । जडिबुडि उत्पादनको कृषि हव संचालन गरौँ । जडिबुटी संकलनका उद्योगहरु खोलौँ र त्यहाँ कामदारको माग गरौँ । हिमाली जिल्लाबाट संकलित जडिबुटीलाई निश्चित स्थान तोकौँ र प्रशोधित उद्योग स्थापना गरौँ र रोजगारी दिलाऔँ । प्रशोधित जडिबुडिबाट रसायनिक प्रतिक्रिया बनाई औषधी निर्माण गर्ने कम्पनी खोलौँ । हेर्नुहोस् त के यति काम गर्न सकिदैन ? हजारौँ यस्ता अध्ययन गरेका अब्बल नेपाली युवाहरु अरुको देशमा गएर यिनै काम गरी अर्काको देशलाई उभो लगाएका छन् भने आफ्नै देशमा किन नगरुन् । अलिकति प्रदेश सरकारको इच्छा शक्ति, योजनाकारहरुको योजना, लगानीकर्ताहरुको थोरै लगानी मिसाउने हो भने साच्चै हामी जोसिला युवा युवतीहरुले मरिमेटेर उत्पादन गर्नेछौँ उत्पादिन, निर्मित सवै ओखती राज्यका सम्बन्धित निकायले देश विदेशमा निर्यात गर्ने वातावरण मिलाए पुग्ने छ । अनि हुदैन त केही ? हुन्छ पक्कै हुन्छ ।
हामीसँग कति छन् छन् सम्भावनका अवसरहरु । पशुपालन र बेचविखन पनि हाम्रो अर्को उत्पादन र स्वरोजकारको क्षेत्र हो । यहाँ गाई, भैँसी, चौरी, भेडा, च्याङ्ग्रा, कुखुरा, बाख्रा, बोका, कालिज, बट्राइ, हास.. आदि सवै खालका पशु चौपाय पाल्न मिल्ने ठाउँ र वातावरण प्रशस्त छ । दुधका लागि, मासुका लागि, अण्डाका लागि पालिने पशु चौपायबाट हामी आफै आत्मनिर्भर भई अन्य प्रदेश र विदेशमा समेत निर्यात गर्न सक्छौँ । यसबाट युवाहरुलाई रोजगारको स्थापना नहुने कुरै भएन । एकल रुपमा नपाली सामुहिक, कम्पनीगत र सहकारीका रुपमा यी व्यवसाय संचानल गर्ने हो भने हामी प्रत्येक युवालाई आम्दानीको केन्द्र बनाउन सक्छौँ तर राज्यले उत्पादन गरेका यी सामग्रीलाई विक्री वितरण गर्ने व्यवस्था मिलाउनै पर्छ । पशु चौपाय पालनमा पनि उत्पादन बढी हुने खालका प्रजातीको विकास गरी वितरण गर्ने व्यवस्था मिलाउनु पर्छ । अवस्य यस क्षेत्रमा पनि स्वरोगारको स्थापना हुनुको साथै प्रदेशमा आर्थिक समृद्धि हुनेछ ।
हाम्रो प्रदेशमा अन्य क्षेत्र पनि त्यत्तिकै रहेका छन् । काष्ठकलाको क्षेत्र, सिलाइ बुनाईको क्षेत्र, मूर्तिकलाको क्षेत्र, चित्रकलाको क्षेत्र, निगालो चोयाबाट बन्ने सामग्रीको विकास र सिपको क्षेत्रलाई पनि उत्तिकै महत्व दिई यिनीहरुको आधुनिकीकरण गरी प्रशस्त उत्पादन गर्ने र विक्री वितरण गर्ने खालको व्यवस्था राज्यले मिलाई युवाहरुलाई सिप, तालिमको व्यवस्थापन गर्नु पर्छ । यसबाट पनि स्वरोजगारीको स्थापना हुनेछ ।
प्रदेशमा पर्यापर्यटनको सम्भावना निकै छ । यो रोजगारी स्थापनाको ठूलो क्षेत्र हो । योसँग होटल व्यवसाय, चित्रकला, काष्ठकला उत्पादनको व्यवसाय, यातायात व्यवसाय, ट्रेकिङ् व्यवसाय, मनोरञ्जनका विभिन्न उपायहरुको व्यववाय, गीत सङ्गीतको क्षेत्र, जम्पिङ, ¥याफ्टिङ, विभिन्न खेलकुद, घोडसवार, र अन्य थुप्रै व्यवसायहरु सजिलै फस्टाउन सक्छन् । हजारौँ युवा युवतीलाई सहभागि बनाउन सकिन्छ । यहाँ हिमाल पारीको गाउँ मुस्ताङ मनाङ हेर्न, हिमाल आरोहण गर्न, देशको एकमात्र सिकार आरक्षण ढोरपाटनमा सिकार खेल्न, गण्डकी प्रदेशका विभिन्न ठाउँमा भएका मठ, मन्दिर, देवालय आदिमा तीर्थाटन गर्न लाखौँ पर्यटनहरु आउँछन् ।
यसलाई अझ बढाउन विभिन्न क्षेत्रमा होटेल व्यवसाय संचालन गर्ने, प्राकृतिक छाँगा, छहरा, झरना, ताल तैलैया त भइहाले तिनीहरुको सदुपायोग र संरक्षण गर्ने योजनाको साथै कृतिम खालका यस्ता मनोरञ्जनका क्षेत्रहरु निमार्ण गरी आर्थिका आम्दानी बढाउन सकिन्छ । यस्तो खालको योजना, सिप, तालिम र सहुलियत ऋणको व्यवस्था राज्यले गर्नु प¥यो । लगानी गरेका युवाहरुको व्यपार व्यवसायको सुरक्षा, संरक्षण गर्ने , नियमन, अनुगमन गर्ने कमाउनेबाट करको दायरा फराकिलो बनाउने, नसक्नेलाई सहयोग गर्ने हो भने पक्कै प्रदेशको समृद्धि ह्ुनेछ । लाखौँ युवाहरु उत्पाद, विकास र व्यवसायमा तल्लीन भएर लाग्ने छन् । सवैले यही देशमा रोजगारी पाउने छन् । कोही रोजगारी दिने हुनेछन् , कोही रोजगारी गर्ने भेटिने छन् । क्षमता, योग्याता र सिप अनुसारको रोजगारी सबैले पाउने छन् विदेशी भूमिमा दुःखले कोही पनि रोजगार खोज्न जाने अवस्था सिर्जना हुने छैन । यो योजना राज्यले मिहिन ढंगले लगाउने हो भने सफलता हासिल गर्न सकिन्छ ।
गण्डकी प्रदेशमा युवाहरुलाई रोजगार दिने थुप्रै यस्ता क्षेत्रहरु छन् । यहाँ आकार आकारका, विभिन्न रङका र कलाकारिताका ढुङ्गा उत्पादन हुने ढुङ्गा खानीहरु छन् । विश्वका विकसित देशमा महङ्गो मूल्यमा निर्यात गर्न सक्ने ल्याकत राख्ने कफी खेती, अलैची खेती, डार्गन खेती, ग्राउण्ड एप्पलहरु उत्पादन हुन्छन् । नेपालको महङ्गो जडिबुटी यार्सागुम्बा जुन लाखौँ मुल्य पर्छ त्यो पनि यहि प्रदेशमा उत्पादन हुन्छ । पारिलो डाडामा माहुरीका झुण्ड हुने र मिठो अमृत रस प्रदान गर्ने माहुरी पालन यही गर्न सकिन्छ । तरकारी, खाध्यान्न, मासु, दुग्धजन्य पदार्थ, फलफुल, विभिन्न जातका माछापालन आदिबाट पनि स्वरोजगार स्थापना गरी आर्थिक फट्को मार्न सक्ने सम्भावना यस प्रदेशमा रहेको छ । यी क्षेत्रहरुको असली उत्पादन हुने ठाउँ पहिचान गरी युवाहरुलाई यस क्षेत्रमा आकर्षित बढाउन सकिन्छ । माथि भनेझँै सामुहिक रुपमा होस वा कम्पनीका रुपमा खडा गरेर होस यी यस्ता चाखलाग्दा व्यवसायहरुमा युवाहरुलाई जानकारी गराउने, सिप प्रदान गर्ने, औजार उपलब्ध गराउने, लगानी गर्न उत्साहित गर्ने, उत्पादन भएका सामग्रीको खपत गर्ने वातवारण तयार गरिदिने, बिउविजन उपलब्घ गराइदिने हो भने युवाहरु कस्सिएर लाग्ने छन्, जाग्ने छन् र समृद्ध हुनेछन् ।
नेपाली युवालाई सिपको अभाव छ । कोरा किताबी ज्ञान प्रदान गर्ने गुरु जति पनि भेटिए तर व्यवहारिक र व्यवसायिक ज्ञान प्रदान गर्ने गुरुको खाचो छ । हाम्रो प्रदेशमा यस्ता विद्यालय खोलुन सवै प्रकारका ज्ञान र सिप एकै थलोबाट प्राप्त होस् । हातमा डिग्रीका सटिपिकेट होइन त्यसका ठाउँमा हातमा अब्बल खालको सिपको सटिपिकेट थमाइयोस् । सटिपिकेट छोपेर जागिर खोज्न होइन, जागिर दिने व्यवसाय खोज्न हिडून् । त्यस्ता सिप प्रदान गर्ने थलोमा विद्यार्थीको ठेलमठेल होस् । त्यस्ता सिप दिने गुरुले त्यही रोजगार प्राप्त गरुन् । प्रदेशमा त्यस्ता उद्योगी होउन जसले आफ्नै प्रदेशमा उत्पादन भएका कच्चा पदार्थबाट उद्योग संचालन गरुन् । प्रदेशमा त्यस्ता व्यापारी होउन् जसले आफैले उत्पादन गरेका सामानमात्र बेचुन् । प्रदेशमा त्यस्ता उपभोक्ता होउन् आफुले उत्पादन गरेको सामग्री बेचेको पैसालेमात्र अन्य उपभोग्य सामग्री खरिद गर्न सकून् । अनि हुनेछन् समृद्ध जनता र हुनेछ समृद्ध प्रदेश ।
यी माथिका जति जति सम्भावना छन् त्यत्ति नै चुनौति पनि छन् । सम्भावनाका चाङलाई तेस्राउन जति सजिलो छ । समाधानका उपायहरुलाई लागु गर्न अहिले कै अवस्थामा कठिन छ । तर हिलोको थुप्रोभित्र पनि सुन्दर कमल फुल्न सक्छ मात्र वातावरणको कमी छ , योजनाको कमी छ, सुरक्षाको कमी छ, ग्यारेन्टीको कमी छ, विश्वासको कमी छ, त्यो कमिलाई हटाउने नेतृत्वमा इच्छाशक्ति आओस् । योजना, लगानी, सुरक्षा, ग्यारेन्टी र इच्छाशक्तिलाई बढाएर विश्वासमा लिन सक्ने हो भने यहाँ कमी हुने केही छैन । थालिएका कामहरुको अवस्थाको अनुगमन नहुनाले नै यहाँका उद्योग, व्यवसाय, कृषि, साना तिना घरेलु उद्योग र ठूला उद्योगमा समस्या आएको हो । सवैभन्दा कमी यहाँ विश्वासको छ । विश्वास र भरोसा आजको युवामा जगाउनु आवश्यक छ । उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः । अर्थात श्लोक अनुसार व्यक्तिले मेहनत गरेर नै काम सिद्धी गर्छ इच्छा व्यक्त गरेर होइन ।
यहाँ मेहनतको खाचो पनि छ । विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने तर आफ्नो देशमा भने चयन खोज्ने, काम गर्न लजाउने र अल्छी मान्ने यो प्रवृत्तिले हामी युवा पछि परेकै हो । अर्कोतिर हाम्रो देशमा जुन प्रशासनिक झमेला र कानुनी अफ्ठ्यारा छन् तिनीहरुको निराकरण गर्न निकै आवश्यक छ । सानातिना काम फत्ते गराउन ठूलो मेहनत गर्नु पर्ने, सोर्स फेर्स लगाउन पर्ने, पाटी र आफ्नो मान्छे हुनु पर्ने जस्ता यी समस्यालाई हटाउनै पर्छ । कागजको पाmइलमा उद्योग, व्यवसाय खोलेर अनुदान झ्वाम पार्ने यो पद्धतिलाई प्रदेश प्रशासनले शून्य सहनशीलता लिनै पर्छ । कडा निगरानीमा राखी आम्दानी र खर्चको अनुगमनलाई पार्दशिताको ऐनामा राखेर छर्लङ्ग पार्नै पर्छ । सवै तह र तप्काका मानिसले मेरो प्रदेश, मेरो व्यवसाय, मेरो उद्योग, मेरो कृषि, मेरो पर्यटन भनेर जे छ त्यसलाई मन, मुटु र हृदयमा राखेर लाग्ने हो भने पक्कै समृद्ध प्रदेश मात्रै होइन समृद्ध, सम्पन्न, राष्ट्र बनाउन सक्ने छौँ । छलछाम र क्षणिकता र बढी महत्वकांक्षाले नै हामी नेपाली युवा युवती यसरी स्वरोजगार हुन नसकेको हो भन्ने महशुस गरेको छु ।
अन्त्यमा हाम्रो प्रदेशमा कोही पनि युवा रोजगारबाट विमुख हुन नपरोस भन्नका लागि सवै खालका अवसरहरुलाई अवलम्बन गर्नै पर्छ । हिमालका टाकुरा, पहाडका थुम्का र तराइको मैदानसम्म फैलिएको हाम्रो प्रदेशमा कुनै पनि सम्भावना यो गर्न असम्भव छ भन्ने नै छैन । सवै खालका उद्योग, व्यवसाय, कृषि, तरकारी, पशुपालन गर्न सकिन्छ । हातमा हात काँधमा काँध मिलाउदै सवै युवालाई सानो तिनो पेशा व्यवसाय अवलम्बन गर्ने गराउने वातावरण मिलाउन आवश्यक छ । मात्रै इच्छा शक्ति, केही तौर तरिका, विधि, प्रविधि, सिप, लगानी र आयात निर्यातको प्रवन्ध मिलाउन सके पुग्छ । मुखमा राम राम बगलीमा छुरा नबनाई हृदयबाट नै कामको थालनी गर्नु पर्छ ।
यहाँ केही चुनौति पनि छन् । युवाहरुमा सानो तिनो भए पनि, थोरै भए पनि देशमै रोजगार गर्नु पर्छ भन्ने भावनाको विकास गराउने, लगानी गरी दिर्घकालिन सम्म उद्योग धन्दा संचालन गरी टिकाउने, उत्पादन गरेका सामग्रीको विक्री वितरण र निर्यात आयातको व्यवस्था गर्ने, क्षतिपूतिका लागि विमा र सहुलियतको व्यवस्थापन गर्ने, माटो, हावा पानी, जमिन आदिको परीक्षण गरी कहाँ कस्ता प्रकारका उत्पादन हुन् सक्छन् ती समस्यालाई समाधान गर्ने जस्ता थुप्रै चुनौतिहरु छन् । तिनीहरुको समाधान गरी अगाडि बढ्ने हो भने पक्कै प्रदेशका धेरै युवाहरुलाई देशमा नै स्वरोजगार बनाइ समृद्ध गाउँ, समृद्ध नगर, समृद्ध प्रदेश अनि सम्पन्न देश बनाउन सक्छौँ ……. जय प्रदेश ।
लेखक- पेशाले शिक्षक हुनुहुन्छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसमा विचार लेखन प्रतियोगितामा कँडेल प्रथम बन्नुभएको थियो ।











