मन्त्रीद्वय दीपक मनाङे र चन्द्रबहादुर बुढाले अझै बुझाएनन्
केही दिनअघि गण्डकी मन्त्रिपरिषद्ले मन्त्रीहरुको लागि आचारसंहिता जारी गर्यो। आचारसंहितामा मन्त्री भएको २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने निर्देशन थियो । त्यही निर्देशन अनुसार गण्डकीका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमार्फत् सार्वजनिक गरिएको सम्पत्ति विवरणमा केही मन्त्रीहरु अरबपति देखिएका छन् भने केहीको सामान्य हैसियत !
युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्रीहरुको सम्पत्ति विवरण राष्ट्रिय सतर्ककता केन्द्र सिंहदरबारलाई पनि पठाइएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग पुख्र्यौली ५ तोला सुन छ । नवलपुरको गैंडाकोटमा २।३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे २ तले पक्की घर छ । तनहूँमा जन्मेका पोखरेलले पैतृक सम्पत्ति बेचेर खरिद गरेको जिकिर गरेका छन् । पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ । पोखरेलको नाममा तनहुँमा पनि जग्गा छ । मुख्यमन्त्री पोखरेलको एभरेष्ट बैंकमा तलब भत्ताबापत् ५ लाख रुपैया नगद मौज्दात छ । कृषि विकास बैंकबाट उनले २०७६ मा २५ लाख ऋण लिएका छन् ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको पोखरा–१६ मा ३८२ वर्गमिटर क्षेत्रफलमा घर छ । उक्त घरजग्गालाई खड्काले पैतृक सम्पत्ति र स्वआर्जन भनेका छन् । उनका श्रीमती कमला खड्काको नाममा पोखरा–३३ मा २२२ वर्गमिटर जग्गा छ । सो जग्गा माइतबाट प्राप्त जग्गा साँटफेरबाट आएको उल्लेख गरेका छन् ।
यस्तै खड्काले ९५ तोला सुन पैतृक रहेको बताएका छन् । तलब भत्ता वापत एभरेष्ट बैंकमा २० लाख ३३ हजार नगद मौज्दात, अमरदीप सहकारीमा ६५ लाख र अन्य बैंकहरुमा १५ लाख नगद मौज्दात रहेको उल्लेख गरेका छन् । उनको अमरदीप सहकारीमा ५१ लाख ५० हजार बराबर र जन्मभूमि एजुकेशन फाउण्डेसन प्रालिमा ५ लाखको शेयर रहेको छ । उनले ७५ लाख रुपैयाँ ऋण दिएको पनि जनाएका छन् । श्रीमती कमला खड्काको नाममा ४२ लाख मुल्यको गाडी छ ।
गण्डकीका कानून सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा सम्पत्तिको मामिलामा सबैभन्दा धनी देखिएका छन् । व्यावसायिक पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आएका मन्त्री थापाको घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायतको क्षेत्रमा लगानी छ । पोखरा–९,नयाँबजारका रैथाने थापाले केही सम्पत्ति पैत्रिक भएको बताएपनि उनी स्वयंले व्यवसायबाट गरेको आम्दानीको हिस्सा ठूलो छ ।
मन्त्री थापाको पोखरा– ८ नयाँबजारमा ३ हजार ९११ वर्गमिटर क्षेत्रफलमा घर छ । आम्दानीको स्रोतमा ऋण र सापट भनेका छन् । यस्तै, वडा नं। ९ मा ४ हजार ९९४ वर्गमिटर क्षेत्रफलमा उनको अर्को घर छ । यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल पनि रहेको छ । उनले आम्दानीको स्रोतमा पैतृक भनेका छन् । यस्तै, लेकसाइडस्थित बगैचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोट पनि उनकै स्वामित्वमा छ ।
श्रीमतीहरु राधा थापा क्षेत्री र मनलक्ष्मी थापा तथा छोरा सौगात थापाको नाममा उनीसँग १५७ कित्ताभन्दा बढी जग्गा छ । ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हीरा,विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा १० करोड नगद मौज्दात र ७ लाख ५० हजार कित्ता शेयर भएका थापाले विभिन्न ५ वटा बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन् ।
गण्डकीका अर्थमन्त्री रामजी बराल जीवनले पोखरा–२२ मा १ रोपनी ४ आना २ दाम जग्गामा पैतृक सम्पत्तीका रुपमा घर रहेको उल्लेख गरेका छन् । यस्तै, पैतृक सम्पत्ति र विदेशमा रहेका छोराले पठाएको पैसाले पोखरामै जग्गा खरिद गरेका छन् । जग्गा आप्mनो र श्रीमती बुद्धिमाया बरालको नाममा छ ।
मन्त्री बरालसँग तलब भत्ता वापत ३ लाख नगद मौज्दात छ । चार तोला सुन छ । ६० हजार रुपैयाँको एउटा गाई तथा सय कित्ता सेयरसमेत भएका उनले एक करोड रुपैयाँ ऋण लिएको जनाएका छन् ।
उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशहरण आचार्यले बुझाएको सम्पत्ति विवरणमा बुबा पुष्पराज आचार्यको नाममा गोरखाको पालुङटार–२ मा पैतृक सम्पत्तीमा रुपमा घरजग्गा छ । उनले श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३० लाख रुपैयामा जग्गा खरिद गरेका छन् । उक्त रकम आमुल फर्निचर उद्योगको कमाइबाट प्राप्त भएको विवरणमा उल्लेख गरेका छन् ।
मन्त्री आचार्यसँग ८ तोला सुन र ५ तोला चाँदी ,५० हजार रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरेका छन् । मन्त्री आचार्यले कृषि विकास बैंकबाट ५० लाख ऋण लिएकोमा १० लाख तिरेका छन् ।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ नगरपालिका २ मा ४८ लाख ५० हजारमा घर किनेका छन् । उनको जन्मगाउँ काठेखोला–८ लेखानी हो । कँडेलको पुख्र्यौली थलो बागलुङको लेखानी, बागलुङकै नरेठाँटी, चितवन र रुपन्देहीमा प्रसस्तै जग्गा रहेको छ ।
उनीसँग २५ तोला सुन र अन्दाजी १ किलो चाँदी, आफ्नो नाममा ६ लाख र पत्नी इन्द्रकली कँडेलको नाममा २ लाख नगद मौज्दात रहेको बताएका छन् । इन्द्रकलीको नाममा रहेको १ लाख ८८ हजार दक्षिणालगायतबाट प्राप्त भएको उनको जिकिर छ । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रसस्तै सेयर रहेको छ । २ करोड ६७ लाख ऋण पनि उनको टाउकोमा रहेको छ ।
गण्डकीका शिक्षा, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ अर्का धनी व्यक्तिमा दरिएका छन् । उनीसँग स्याङ्जामा र काठमाडौं नागार्जुनमा साँढे २ तले पक्की घर छ । उनीसँग १५ लाख रुपैयाँ नगद, १ किलो १९ तोला सुन, ७ किलो २ तोला चाँदी र एक थान हीराको औंठी पनि रहेको छ ।
मन्त्री श्रेष्ठले बैंक तथा वित्तीय संस्थामा ६ करोड ५२ लाख २३ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । श्रेष्ठको नाममा काठमाडौंस्थित क्यापिटल लिमिटेडको ५ लाख बराबरको शेयर, रक्षण सहकारीमा २ लाख र आधिखोला कोअपरेटिभ लिमिटेडमा १ लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् । उनले सिटिजन्स बैंकबाट ७ करोड ९० लाख रुपैया ऋण लिएको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको लमजुङको दुधपोखरी गाउँपालिकामा पैतृक सम्पत्तिको रुपमा घर छ । चितवनको कविलासमा उनको २ वटा जग्गा छ । जुन शहीद परिवारले पाउने राहत रकमबाट खरिद गरेको उनले खुलाएकी छिन् ।
यस्तै, मकवानपुरको हेटौंडामा पनि उनले जग्गा किनेकी छन् । मन्त्री अधिकारीले आफुसँग ३ तोला सुन, प्रभु बैंकमा ३० हजार, सानिमा बैंकमा ६ लाख ५० हजार र एभरेष्ट बैंकमा १ लाख ८० हजार रहेको छ ।
वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापाको स्याङ्जाको विरुवामा पैतृक सम्पत्तिका रुपमा घर जग्गा छ । उनले पोखरा–१४ मा ४० लाख रुपैयामा १७८ वर्गमिटर जग्गा किनेका छन् । उक्त जग्गा खरिद गर्न उनले मुक्तिनाथ विकास बैंकबाट ऋण लिएको उल्लेख गरेका छन् ।
यस्तै, स्याङ्जाको विरुवामा ८ रोपनी जग्गा किनेका छन् । जुन आप्mनो तलब, भत्ता, आफन्तबाट सुन्तला बगैचा स्थापना गर्न खरिद गरेको उल्लेख गरेका छन् । उनीसँग पैतृक सम्पत्तिका रुपमा ५० तोला सुन र २० तोला चाँदी छ । बैंक तथा वित्तीय संस्थामा १५ हजार रुपैया नगद मौज्दात रहेको उनले उल्लेख गरेका छन् । ढोरपाटन न्युजबाट










