परिचय खोज्दै बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ : जसले मागिरहेछ छुट्टै जिल्लाको अस्तित्व

परिचय खोज्दै बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ : जसले मागिरहेछ छुट्टै जिल्लाको अस्तित्व

प्रकाश बराल

@समय नेपाल

२०७८ भदौ १७ गते बिहिबार ११:२८

बागलुङ- सदरमुकामदेखि ९० किमी पश्चिमको प्रशासनिक इकाई, जिल्लाको दोस्रो ठूलो बजार बुर्तिबाङ मध्यपहाडी लोकमार्गको नमूना सहरमा समेत सूचिकृत छ । नमूना सहर बन्न चाहिने पूर्वाधार पूरा नभएपनि यहाँको जबरजस्त व्यापारले बुर्तिबाङ स्थापित...

बागलुङ- सदरमुकामदेखि ९० किमी पश्चिमको प्रशासनिक इकाई, जिल्लाको दोस्रो ठूलो बजार बुर्तिबाङ मध्यपहाडी लोकमार्गको नमूना सहरमा समेत सूचिकृत छ । नमूना सहर बन्न चाहिने पूर्वाधार पूरा नभएपनि यहाँको जबरजस्त व्यापारले बुर्तिबाङ स्थापित भइरहेको छ ।

सदरमुकामदेखि टाढाको दूरीमा रहेकाले जनताको सोझो पहुँच छैन । छिमेकी जिल्लाको तम्घास, पाल्पा र बुटवलदेखि सामान ल्याउने लामो इतिहासपनि अझै मेटिएको छैन ।
२०२५ सालमा बुर्तिबाङ बजार थिएन । केही घरमात्रै थिए । तर, पश्चिम बागलुङको १७ वटा गाविसको आशाको केन्द्र यही थियो । पश्चिम बागलुङेलाई सदरमुकाम आउजाउ गर्न पनि कठिन थियो । पैदलै आउँदा ३ दिनको यात्राले हैरान भएपछि स्थानीय सामाजिक अगुवाहरु छुट्टै जिल्लाको माग गर्न राजाधानी पुग्थे । केवल आश्वासन पाएर फर्कन्थे ।

महेन्द्रकालीन सरकारले यहाँ प्रशासनिक इकाई र विद्यालय खोलिदिने आश्वासन दिएर अभियानकर्मीलाई फर्कायो । यो अभियानमा शेरबहादुर मल्ल, अर्जुन मल्ल र थमबहादुर शेरचन लगायतले पहल गरेका थिए । सरकारले यहाँको उत्तरगंगा मावि खोलिदियो । र, नजिकै छात्राबास पनि ।
यसपछि निसीभुजी र तमानका बालबालिकाले पढ्न पाए । मालपोत लगायतका अत्यावश्यक सेवाको इकाई पनि स्थापना गरिदियो । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङले प्राथमिक स्वास्थ्य केन्द्र रहेको पाखोमा बाटो खोलिदिए । छेवैछेउ बुंगादोभानसम्म जाने सडक खोलिदिँदा स्थानीयले राहतको मसशुस गरेको ८१ वर्षीय अर्जुन मल्ल स्मरण गर्छन् ।

पश्चिम क्षेत्रकै एकमात्र विद्यालय खुल्दापनि यहाँ ठूलो जागरण फैलियो । हालको बसपार्क रहेको स्थानमा उत्तरगंगा मावि सञ्चालित थियो । ‘पछि यो विद्यालय अहिलेको स्थानमा सारियो, मोटरबाटो नखुल्दै बसपार्कका लागि भनेर स्थानीयले यो जग्गा छुट्टयाएर राखेका थिए,’ उत्तरगंगा माविका पूर्व प्रधानाध्यापक जगन्नाथ आचार्य भन्छन् । आचार्य २०४२ सालदेखि २०५८ सालसम्म उत्तरगंगामा कार्यरत थिए । उनकै पालामा यो विद्यालयमा कक्षा १२ सम्म पढाइ चलेको हो ।
२०४६ को परिवर्तनपछि फेरि बुर्तिबाङका सामाजिक अगुवाहरु छुट्टै जिल्ला माग्न राजधानी धाए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलले जिल्ला थप्न नसकिने भन्दै सेवा सुविधा थपेर लैजान आग्रह गरे ।

उत्तरगंगा माविका प्रधानाध्यापक धीरप्रताप सिंह, तुलासिंह घर्ती, मोहनलाल शर्मा लगायतका अभियान्ताहरुले सडक खुलाउने, क्याम्पस खोल्ने जस्ता आश्वासन पाएर फर्केका थिए । २०५४ सालमा कामका लागि खाद्यान्न कार्यक्रमअन्र्तगत बागलुङदेखि पश्चिम र दक्षिणका लागि सडक खन्ने काम सुरु भयो । त्यो अभियानले पनि बुर्तिबाङ जोड्न दशक लाग्यो ।

त्यसअघि ओमकारप्रसाद गौचन शिक्षा सहायक मन्त्री भएकैबेला पारेर पश्चिम बागलुङमा धेरै विद्यालय खुले । बुंगादोभान, तमान, बोबाङ, निसी, लगायतका गाउँमा विद्यालय खुलेपछि गाउँ गाउँमा शिक्षा र जागरणको लहर छाएको थियो । पटक पटक छुट्टै जिल्लाको आन्दोलन, अभियान र डेलिगेसन चल्दै सेलाउँदै गरेको बुर्तिबाङ अझैपनि व्यवस्थित भने बन्न सकेको छैन ।
मध्यपहाडी लोकमार्गमा सडक सूचिकृत भएपछि बागलुङदेखि बुर्तिबाङहुँदै निसी जोड्ने सडक कालोपत्रे अभियान सुरु भयो । घोडाबाँधेदेखि जिल्लाको सीमानासम्म अधिकांश खण्ड कालोपत्रे भइसकेको छ । सडक स्तरीय बनेकोले बुर्तिबाङदेखि सदरमुकाम आउनु भन्दा पाल्पा र बुटवल नजिक पर्न थालेको छ ।

दैनिक उपभोग्य वस्तु र खाद्यान्न सोझै बुटवलबाट आउँछ । त्यसैले अहिले पनि स्थानीयले प्रशासनिक कामबाहेक सदरमुकाम खोज्दैनन् । संविधानसभाले संविधान जारी गर्ने बेलासम्म पनि छुट्टै जिल्ला माग्ने क्रम चलेको थियो । अहिले पनि छिटफुट रुपमा माग बढिरहेकै छ । प्रशासक र राजनीतिक नेताले थम्थम्याएर रोकिएको अभियान बेलाबेला बिष्फोट भएर देखिन्छ ।
मध्यपहाडी लोकमार्गको स्मार्ट सिटी बनाउने गरी सूचिकृत भएर पनि बुर्तिबाङ विकासको लहरमा पछि परिरहेको छ । पञ्चायत, बहुदल र गणतन्त्रपछि पनि राजनीतिक नेतृत्वमा बुर्तिबाङले अवसर पाएको छैन । संसदीय निर्वाचनमा पनि सधैं बागलुङ आसपासका उम्मेदवार लगेर उठाउने काम भयो ।

पहिलो संविधानसभामा निरज पुन र दोस्रो संविधानसभामा ज्ञानकुमारी छन्त्यालबाहेक संघीय संसदमा जाने सबै पश्चिम बागलुङका छैनन् । अहिलेको संसदीय निर्वाचन क्षेत्रमा पनि बानपा १२ का देवेन्द्र पौडेलले पश्चिमको प्रतिनिधित्व गर्छन् । आफ्नो क्षेत्रको संसद नहुँदापनि विकासमा पछि परिन्छ भन्ने कुरा अहिले पनि देखिने स्थानीय बताउँछन् ।
२५ वर्षअघिसम्म खेतैखेत भएको बुर्तिबाङ अहिले कंक्रिटको सहर बसेको छ । ‘खेतीयोग्य जमिन सबै सकियो, भएको सहर पनि अव्यवस्थित छ,’ स्थानीय पार्वती अर्याल भन्छिन्, ‘दैवी प्रकोप र स्वास्थ्यको दृष्टिले धेरै असुरक्षित सहर बनेको छ ।’ तमान र भुजीखोला उर्लेर आउँदा बुर्तिबाङ बजारमा दुर्घटना पर्ने जोखिम छ ।
खोलाछेउमा तटबन्ध छैन । अव्यवस्थित घर बनेका छन् । सबै गल्लीमा सवारी चल्न सक्दैनन् । बसपार्क अतिक्रमणमा परेको छ । नयाँ बसपार्क बनाउने अभियान अगाडि बढ्न सकेको छैन ।
नमूना सहरी आयोजना र नगरपालिकाबीच अधिकारको दोहोरी चलेको छ । बजेट, अधिकार, काम गर्ने शैलीसमेतमा २ संस्थाबीचको टकरावले नगरपालिका जस्तो बन्न नसकेको स्थानीयले टिप्पणी गर्छन् । सहरी आयोजनाले आफ्नो स्वायत्त संस्था मान्छ भने नगरपालिका स्थानीय सरकार भएकोले आफ्नो अर्डरमा चल्नुपर्ने अडानमा छ । यस्ता गतिविधिले दुवै संस्थाका काम प्रभावकारी भएका छैनन् ।

स्वास्थ्य शिक्षामा अझै कमजोर

बुर्तिबाङबाट जिल्लाको झण्डै एक तिहाई जनसंख्याले सेवा लिने गर्छ । तर, यहाँ अस्पताल छैन । २०६७ सालमा जिल्ला अस्पताल अञ्चलमा स्तरोन्नति भएपछि बागलुङ अस्पताल बुर्तिबाङमा बनाउने तयारी थियो ।
स्वास्थ्य मन्त्रालयले अहिले सम्म यहाँ ओएनएम सर्भे गरेको छैन । जसले गर्दा अस्पताल बन्न पाउने पूर्वाधार भएर पनि सेवा तथा उपकरण अभाव छ । दैनिक सयौंको उपचार गर्नुपर्ने स्थानमा उपकरण नभएकै कारण सदरमुकाम, बुटवल र पाल्पा रेफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख डा. मिलन मल्ल गुनासो गर्छन् ।

प्रशासनिक इकाई

बुर्तिवाङमा इलाका प्रशासन कार्यालय स्थापना भएको छ । सदरमुकाम आउने सास्तीले धेरैपटक छुट्टै जिल्लाको माग बढेपछि नागरिकता, राहदानी र मालपोतको काम हुने गरी इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । बुर्तिबाङमा अहिले नेपाल बैंकसहित निजी क्षेत्रका वित्तीय संस्था खुल्ने क्रम बढेको छ ।
अहिले बुर्तिबाङमा दैनिक उपभोग्य वस्तुहरु बुटवलबाट सिधैं आउने भएकोले सदरमुकामभन्दा सस्तोमा पाइन्छ । झुत्रेझाम्रे मात्रै देखिने निसीभुजीका जनता अहिले सुकिलामुकिला बन्न थालेका छन् ।
पहिला जलन्धर जाने ग्रामीण बासिन्दा आजकल खाडीमुलुक गएर भएपनि पैसा कमाएका छन् । त्यसैले उनीहरुमा खान लाउन दुःख छैन । शिक्षा, स्वास्थ्य र चेतनाको विकासका लागि भने अझै केही अभियान चाल्नुपर्ने अवस्था भएको बताउँछन्, नगरप्रमुख देवकुमार नेपाली ।

‘दलित र जनजाति बस्ती भएकोले चेतना अझै विकास भइसकेको छैन, त्यसका लागि सामाजिक र गैरसरकारी संस्थाले पनि साथ दिनुपर्छ,’ नेपालीले भने, ‘ग्रामीण जनताको स्वास्थ्य सुधारमा पनि लगानी बढाउनु पर्नेछ ।’ सिमित जनशक्ति र बजेटबाट नगरपालिकाले थालेका काममा सबैको साथ चाहिएको उनले बताए ।

‘त्रिवेणी’ संगम

बुर्तिबाङ अहिले ३ वटा महत्वपूर्ण सडकको संगम बनेको छ । बुर्तिबाङदेखि निसीहुँदै रुकुम जाने राष्ट्रिय राजमार्ग, ढोरपाटन सालझण्डी गौरवको सडक र तमान लामेलाहुँदै म्याग्दी जोड्ने रणनीतिक सडकको सञ्जालमा बुर्तिबाङ जोडिएको छ ।
गुल्मीको तम्घास पनि सजिलो सडकबाट जोडिएको छ । प्युठान र रोल्पाका स्थानीयसमे बुर्तिबाङलाई बजार मानेर झर्ने गर्छन् । त्यसैले बुर्तिबाङको आर्थिक तथा व्यापारिक भविष्य भने अझै सुन्दर छ ।
ढोरपाटन सिकार आरक्षबाट नजिक भएकोले देश विदेशका पर्यटक आएर बस्ने गन्तव्यको रुपमा बुर्तिबाङ विकसित बन्दैछ । दशक अघि थकालीका भान्छाघर मात्रै रहेको बुर्तिबाङमा आर्कषक र सुविधासम्पन्न होटल बनिसकेका छन् ।

सबै जातिको फूलबारी

पहिला थकाली र मल्लहरु मात्रै रहेको बुर्तिबाङमा अहिले सबै जातजाति मिलेर बस्न थालेका छन् । बरु, खानीको व्यापार गर्न आएका थकालीहरु अहिले राजधानी र ठूला सहरमा विस्थापित भइसके ।
खुंखानी, नर्जाखानी जस्ता खानीमा छन्त्याल, थकाली र कामीहरुले काम गर्ने गरेको तमानखोला गाउँपालिका ६ का अध्यक्ष कुलबहादुर छन्त्याल बताउँछन् । छन्त्यालले खनीखोस्री गर्ने, निकालेको धाउ पोल्ने काम कामीले गर्थे भने थकालीले बजारीकरण गरेको इतिहास छ ।
पछिल्लो समय थकाली विस्थापित भएपनि बाहुन क्षेत्री, मगर र दलित समुदायको यो क्षेत्रमा बाहुल्यता छ । छन्त्यालहरु अल्पसंख्यकको रुपमा केही गाउँमा मात्रै भेटिन्छन् ।

प्रकाशित मिति २०७८ भदौ १७ गते बिहिबार ११:२८
प्रतिक्रिया दिनुहोस्