सेतो धर्को भएको पुतली तपाईंको वरिपरि देख्नु भएको छ भने सजग रहनुस्
साँझको समयमा शरीरमा सेतो धर्को भएको पुतली तपाईंको वरिपरि देख्नु भएको छ भने सजग रहनुस् है ! किनभने यसले गर्दा तपाईंको आँखाको ज्योति सदाका लागि गुम्न सक्छ, त्यो पनि ४८ घन्टाभित्रै ।
प्रत्येक २/२ वर्षमा देखापर्ने शापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) आतंक गण्डकीमा फेरि देखिएको छ । सेतो पुतलीको रौं (झुस) आँखामा परे आँखामा पीप जम्ने र सुकाउने हुनाले ज्योति पनि गुम्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
साँझको समयमा उज्यालो वस्तु वरिपरि भुम्मिने उक्त पुतलीका कारण लाग्ने उक्त रोग एक महिना नबित्दै ३० जनामा देखिएको हिमालयन आँखा अस्पताल, पोखराले जनाएको छ । जसमध्ये ४ जनाले पूर्ण रुपमा आँखाको ज्योति गुमाइसकेका छन् ।
बाँकीको पनि अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । सोमबारमात्रै अस्पतालमा पोखराका ३ र बागलुङ, ढोरपाटनका एकजना शापुकै उपचारका लागि अस्पताल आएका छन् ।
विशेषगरी मनसुन अन्तिमबाट देखापर्ने यो पुतलीको शरीरमा कालो धर्सो हुन्छ । शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने अस्पतालका मेडिकल डाइरेक्टर डा इल्या श्रेष्ठको बताउँछिन् ।
‘सुरुमा कुनै दुखाइ हुँदैन । आँखा रातोमात्रै हुन्छ । तर, विस्तारै आँखामा पिप जम्न थाल्छ । पिप सुक्दै जाँदा विस्तारै दृष्टि पनि हराउँदै जान्छ,’ डा श्रेष्ठ भन्छिन्, ‘यस्तोबेला तत्काल अस्पताल नआए जीवनभरकै लागि आँखाको ज्योति नै गुम्न सक्छ । त्यसको उपचार कहीं हुँदैन ।’
२०३२ सालमा पहिलो पटक पोखरा क्षेत्रमै देखा परेको शापुले बालबालिकालाई बढी प्रभावित पारेको छ । तर, यस वर्ष भने ६५ वर्षीय एक व्यक्तिमा पनि सेतो पुतलीको असर देखिएको डा श्रेष्ठले जानकारी दिएकी छन् । ‘यसको सबैभन्दा बढी जोखिममा बालबालिका छन् । उनीहरु आफूमा भएको समस्या पनि बताउन सक्दैनन् । टेस्ट गर्न पनि एकदमै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘त्यसैले बालबालिका बढी जोखिममा छन् ।’
यसवर्षको पहिलो शापु केस भदौ १३ गते देखा परेको थियो । म्याग्दी, बेनीका १८ वर्षीय युवक आँखामा समस्या देखिएपछि उपचारका लागि अस्पताल आएका थिए । तर, अस्पताल आउन धेरै ढिलो हुँदा उनले ज्योति गुमाइसकेको डा श्रेष्ठले सुनाइन् ।
‘आँखामा सेतो पुतलीको झुस परेको ४ दिनपछिमात्रै हाम्रो सम्पर्कमा आउनु भयो । अरुको दुखाइ कम हुन्छ । तर, उहाँको एकदमै धेरै दुखाइ भएपछि आउनु भएको रहेछ,’ डा श्रेष्ठले भनिन्, ‘आँखामा पिप जमेर पनि सुक्न सुरु भइसकेकाले ‘इम्प्रुभ’ हुन सकेन । पछि उहाँ काठमाडौं जानुभयो ।’
प्रत्येक २÷२ वर्षमा आउने भएपनि सन् २०१८ र १९ मा भने लगातार शापु देखा परेको डा श्रेष्ठले जानकारी दिइन् । भदौदेखि मंसिर महिनासम्म देखा पर्ने शापु सन् ०१९ मा १६ जनामा देखिएकोमा यस वर्ष भने छोटो समयमै दोब्बरमा देखिएको हो । अस्पतालको सम्पर्कमा आएकामध्ये यो समस्याबाट सबैभन्दा बढी कास्की, बागलुङ, पर्वतका रहेको अस्पतालले जनाएको छ ।
तर, सेतो पुतली शापुको ‘आशंका’मात्रै !
सेतो पुतली सँगसँगै देखापर्ने शापु रोगको कारक नै उक्त पुतलीलाई मानिएको भएपनि आधिकारिक पुष्टि हुन भने बाँकी नै रहेको डा श्रेष्ठले जानकारी दिइन् । उनले शापु सेतो पुतलीको झुसकै कारण लाग्ने हो वा होइन भन्नेबारे अनुसन्धानमै रहेको बताइन् ।
‘सेतो पुतली र शापु सँगसँगै देखा पर्ने भएकाले यस्तो भान भएको हो । तर, पुतलीको झुस आँखामा धेरै मात्रामा देखिएर पनि शापु नभएको बिरामी पनि थुप्रै आउनु भएको छ,’ उनले भनिन्, ‘त्यसैले शापु के कारणले हुने हो भन्ने अझै पनि हामी अनुसन्धान मै छौं ।’
यस रोगबारे सबैभन्दा पहिले ०३२ सालमा १६ वर्षमूनिका बालबालिकामा डा. मदनकुमार उपाध्यायको टिमले पत्ता लगाएका थिए । लामो अनुसन्धानपछि रोगको नाम ‘शापु’ दिएपनि कारण भने यकीन भइसकेको छैन । ‘यस रोगको कारणबारे डा उपाध्यायसँग निरन्तर सम्पर्कमै छौं । अनुसन्धान जारी नै छ,’ डा श्रेष्ठले भनिन् ।
‘जाँच्ने मेसिनै थोत्रियो, बनाउँदै चलाउँदै !’
शापुलगायत रोग चेकजाँचका लागि आवश्यक पर्ने ‘बि–स्क्यान’ नाम अल्ट्रासाउन्ड मेसिनको अभाव रहेको अस्पतालले जनाएको छ । अस्पतालसँग भएको मेसिन दशौं वर्ष पुरानो भइसकेकाले नतिजाअनुरुप काम गर्न नसकिरहेको मेडिकल डाइरेक्टर श्रेष्ठले जानकारी दिइन् ।
‘हामीसँग बि–स्क्यान नभएको होइन, छ । तर, दशौं वर्ष पुरानो भइसकेकाले बेलाबेलामा बिग्रिन्छ । बनाउँदै, चलाउँदै आइरहेका छौं,’ उनले भनिन्, ‘तर, बनाएपनि कतिबेला बिग्रिने हो थाहै हुँदैन ।’ उनले उक्त मेसिन अभाव हुँदा आँखाको भिडिओ एक्सरे गर्न मिल्ने भएकाले शापु भइसकेपछि कति असर पारेको छ भन्नेबारे राम्ररी अध्ययन गर्न समस्या भइरहेको जानकारी दिइन् ।
शापुका सम्भावित बिरामी आएमा तत्काल उपचार गरिहाल्नु पर्ने भएकाले पनि बि–स्क्यान मेसिनको तत्काल आवश्यक रहेको डा श्रेष्ठले सुनाइन् । सोमबार निरीक्षणमा गएको मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको टोलीलाईसमेत मेसिन उपलब्ध गराइदिन अस्पतालले माग गरेको थियो । ढोरपाटन न्युन










