गण्डकी प्रदेका शिक्षामन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

गण्डकी प्रदेका शिक्षामन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
२०७८ असोज १२ गते मङ्गलबार ०७:१४

गण्डकी प्रदेशका शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । मन्त्री श्रेष्ठले भेटवार्तामा राजदूत डेप्रेजलाई प्रदेशमा बहुप्राविधिक...

बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह

गण्डकी प्रदेशका शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । मन्त्री श्रेष्ठले भेटवार्तामा राजदूत डेप्रेजलाई प्रदेशमा बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारले स्याङ्जाको फेदीखोलामा निर्माण गर्न लागेको बहुप्राविधिक शिक्षालयमा लगानी गर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले अहिले डीपीआरको काम भइरहेको र अब छिटै आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना अनुसार पढाई सञ्चालन गर्ने तयारी भएको जानकारी गराउनुभएको हो । उहाँले गुणस्तरीय शिक्षा निर्माणका लागि आर्थिक सहयोग जरुरी रहेको बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले नेपाल कृषिमा आत्मनिर्भर रहेको बताउँदै कोभिडका कारण कृषि क्षेत्र तहसनहस भएको हुँदा यसतर्फ पनि लगानी गर्न राजदूत डेप्रेजसँग आग्रह गर्नुभयो । प्रत्युत्तरमा राजदूत डेप्रेजले आफूहरु नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभएको छ । उहाँले आफूहरुले पहिलेदेखि नै शिक्षामा लगानी गर्दै आएको बताउँदै अबका दिनमा पनि लगानी गर्ने योजना रहेको सुनाउनुभएको थियो ।
मन्त्री श्रेष्ठले नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेनसँग पनि भेट गर्नुभएको छ । भेटका क्रममा भएको छलफलमा उनले प्राविधिक शिक्षालाई नै जोड दिनुभएको बताइएको छ । राजदूत एन्टिनेनले प्राविधिक शिक्षालयलाई मात्र नभई कोभिडबाट प्रभावित प्राथमिक शिक्षामा पनि लगानी गर्न चाहेको बताउनुभयो ।

यस्तै मन्त्री श्रेष्ठसँग स्वीस प्रोजेक्ट कोअर्डिनेटर उषा भण्डारीले पनि भेट गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकीका निर्देशक प्रमोदभक्त आचार्यले गण्डकी प्रदेशका लागि दक्ष जनशक्ति उत्पादनमा सघाउनका लागि तीन वटा मुलुकका राजदूतसँग छलफल गरिएको बताउनुभयो । ‘हामीले गण्डकीको वस्तु स्थितिबारे जानकारी गराएको उहाँको भनाई छ ।

गण्डकी सरकारको निमन्त्रणमा ११ देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिहरू आइतबार पोखरा आएका हुन । सोही अवसरमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र शिक्षामन्त्री श्रेष्ठले राजदूतहरुसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।

प्रकाशित मिति २०७८ असोज १२ गते मङ्गलबार ०७:१४
प्रतिक्रिया दिनुहोस्