पालिकाको सबै क्षेत्रमा सक्दो सुधार र विकासमा लागि परेको पौडेलको भनाई
बुर्तिबाङ- बागलुङ जिल्लाको निसीखोला गाउँपालिका २ अर्नाकोटमा रहेको अर्नाकोट साुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेन्टरको बिहिबार विधिवत रुपमा उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवंम निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले ब्यानर अनावरण सगैँ बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले आफ्नो यो अन्तिम कार्यकाल रहेको हुदाँ पालिका भित्रका प्रायः सबै क्षेत्रमा सक्दो सुधार र विकासमा लागि परेको बताउनु भएको थियो ।
पौडेलले यस क्षेत्र भौगोलिक रुपमा अत्यन्त बिकट एबम पिछडिएको क्षेत्र भएकोले बिकासका लागि गाउँपालिका अत्यन्त गम्भीर रहेको बताउनुभएको थियो । ढोरपाटन नगरपालिका हुदैँ अर्नाकोट पुग्नुपर्ने अवस्था अन्त्य गर्न छिट्टै सडक सञ्जालबाट समेत यस क्षेत्रलाइ जोड्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य र स्वास्थ्य संयोजक टोप बहादुर चन्दले यस क्षेत्रका महिलाले प्रसुती सेवाका लागि भोग्नु परेको सास्ती बर्थिङ सेन्टरको सन्चालन सङ्गै अन्त्य भएको र निकट भविष्यमा यसको स्तरोन्नती एबम आवश्यक जनशक्ती ब्यवस्थापन गरि सहज रुपमै थप सेवा सुविधा उपलब्ध गराउन लागि पर्ने बताउनुभयो
कर्मफ्लाईट फाउण्डेशन नेपालको आर्थिक सहयोगमा निर्मित भवनमा फेयरमेड फउण्डेशन नेपाल र विवाईसी बागलुको साझेदारीमा सञ्चिालिक ग्रामिण स्वास्थ्य सुधार परियोजनाले बर्थिङ सेन्टरमा आवश्यक समानहरु सहयोग गरेको थियो । सामान्य प्रसूति गराउनका लागि आवश्यक सामग्री, प्रसूतिका चरणमा देखिने खतराको पहिचान गर्न यस स्थानका महिलाहरु सिधै बुर्तिबाङ धाउनुपर्ने बाध्यता थियो । परियोजनाले ‘बर्थिङ सेन्टर’का लागि आवश्यक सामग्री, यन्त्र उपकरण, औषधि सहयोग गदैँ आईरहेको फिल्ड सुपरभाईजर रामेश्वर शाहले बताउनुभयो ।
‘बर्थिङ सेन्टर’ स्थापना भइसकेपछि गाउँका अधिकांश गर्भवती महिला प्रसूति हुन स्वास्थ्य संस्थामै आउने उहाँले बताउनुभयो । “पहिलेको तुलनामा अहिले धेरै सुधार भएको छ, पहिले धेरै महिलाहरु घरमै सुत्केरी हुनुहुन्थ्यो”, शाहले भन्नुभयोे, “अहिले धेरै महिला दिदीबहिनीहरु प्रसूति हुन स्वास्थ्य संस्थामा आउनुहुन्छ, गाउँमा यदाकदा अझै पनि घरमै सुत्केरी हुने चलन रहेको जनाउदैँ त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।” अकालमै ज्यान गुमाउनु पर्ने आमा दिदिबहिनीहरुको समस्या सामाधान गर्न नै बागलुङका धेरै पालिकामा परियोजनाले काम गरिरहेको उहाँको भनाई थियो ।
साथै कर्मफ्लाईट फाउण्डेशन नेपालले भवन निमार्ण सगैँ स्वास्थ्य ईकाईमा बच्चालाई सिताङ्ग हुनबाट जोगाउन ‘बेबी वार्मर’ मेशिन प्रदान गरेको छ । पश्चिम बागलुङमा शिक्षा र स्वास्थ्य लगायतका सामाजिक कार्यमा सक्रिय रहेको फाउण्डेशनले विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री प्रदान गदैँ आईरहेको कर्मफ्लाईट फाउण्डेशन नेपालका कार्यक्रम संयोजक प्रेम बहादुर कुंवरले बताउनुभयो ।
वडा नम्बर २ का अध्यक्ष कुविर वि.कले यस स्थानका जनताले विभिन्न कारणले धेरै सास्ती भोग्नु परेकोको उल्लेख गदैँ सडकको बिस्तार आफ्नो प्राथमिकता रहेको र त्यसका साथ साथै स्वास्थ,शिक्षा,खानेपानी लगायतका सेवाको बिस्तारका लागि आफू कटिवद्ध भै लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै कार्यपालिका बैठकहरुमा समेत नियमित रुपमा यहाँका जनताले भोगिरहेको सास्ती तथा दुःखका बारेमा निरन्तर ध्यानाकर्षण गराइरहेकोले अर्नाकोटको बिकासका लागि आफुँ लागि परेको बताउनुभएको थियो ।
वडा नम्बर २ का अध्यक्ष कुविर वि.क को अध्यक्षता रहेको कार्यक्रममा प्रध्यानाध्यापक बेग बहादुर कुवंरको स्वागत मन्तव्य र शिक्षक रेशम बहादुर वि.कको सञ्चालनमा सम्पर्न भएको थियो । कार्यक्रममा समाजसेवी,बुद्धिजिवी,स्थानिय आमा समुह लगायतको सहभागिता रहेको थियो ।


















