विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाउनुभएको छ । उहाँलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले पुस १२ गतेमात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरेको थियो । सोही मन्त्रालयमा पुस १४ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिस बमोजिम विश्वकर्मालाई मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले जानकारी दिनुभयो ।
‘१६ गते आन्तरिक आन्तरिक मामिलामन्त्री माननीय डोबाटे विश्वकर्माज्यूले गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला मन्त्रालयको कार्यभार सम्हाल्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ प्रदेश सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
मन्त्री डोबाटे असोज २५ गते बिना विभागीय मन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेशको १२ औं मन्त्रीका रुपमा नियुक्त भएका उहाँ त्यसअघि नै मन्त्री नियुक्त हुने चर्चा चले पनि अन्तिम समयमा आएर उहाँको ठाउँमा अर्का सांसद विन्दुकुमार थापा मन्त्री नियुक्त हुनुभएको थियो । तर, त्यतिबेला निष्ठापूर्ण राजनीति गरेका नेताको नाम कटाएर धनाढ्य व्यापारीलाई मन्त्री नियुक्त गरेको भन्दै मुख्यमन्त्री नेपालीको आलोचना समेत भएको थियो ।










