राजनीति समाजको बिम्व हो । समाजले पत्याएका मान्छेहरु मात्र त्यो बिम्व हुन सक्छन् । राजनीतिमा हाट्टेहुट्टे गरेर पदको उकालो चढ्दैमा जनताको मन चढ्न सकिंदो रहेनछ भन्ने कुरा ढोरपाटनमा देखियो ।
समाजमा चिनिने र समाजलाई निजिकबाट जान्न सक्ने नेताको अभाव हामीकहाँ खड्किएको पक्कै हो । त्यसको परिणाम ढोरपाटनको राजनीतिले देखायो ।
नेताहरुलाई समाजले मन नपराएको प्रतिविम्ब प्रस्फुटित भइरहँदा, उनीहरुको मनमा समिक्षात्मक प्रतिबिम्व अझै देखिन्न । मात्र आरोप प्रत्यारोपको राममा उनीहरुको गिदि भुलिरहेको देखिन्छ ।
पाँच दलको गठबन्धनले एक दलसँग हार्नु यहाँका नेताहरु जनस्तरमा कक्तिको भिज्छन् । जनअभिमतको कत्तिको ख्याल राखेर बस्छन् । जनमनमा सजिन्छन् कि टाढिन्छन भन्ने मानक पनि हो ।
ढोरपाटनको वडा नं. ३ मा त्यस्तै भयो जो नहुनुपर्ने थियो । नेताहरुका मनमा के ख्याल छ थाहा छैन । तर गत २०७४ को निर्वाचनमा त्यस वडामा माओवादी केन्द्र र देजमोको तालमेलबाट वडा हात परेको थियो । तत्कालिन वडा अध्यक्षका उमेदवार हेमेन्द्र घर्तिले २८२ मत ल्याएर जिते । दोस्रोमा राजमो थियो । नर बहादुर सुनारले २५६ मत ल्याएका थिए । यस्तै काँग्रेसका उमेदवार रामबहादुर कुवँरले ७३ मत ल्याएका थिए । यो गठबनधनको त्यसबेलाको मत हो । जो सबै जोड्दा ६११ मत हुन्छ । त्यहाँ एमालेका केशर छन्त्यालले २३७ मत ल्याएका थिए । पाँच वर्ष अघिपनि ३७४ मतले अघि रहेको गठबन्धन अहिले आएर १४ मतले हार्नु स्वभाविक परिणाम होइन । अझ रमाइलो त्यसबेलाका उमेदवार केशर छन्त्याल समेत अहिले नेकपा एस बाट गठबन्धनमै छन् । सबै नेता नेता भएको ठाउँमा जनताको अभिमत उल्टो आउनुको कारणप्रति उनीहरको मनमा के कति समिक्षा छ छैन त्यो उनीहरुको कुरा भयो तर सार्वजनिक मत परिणामले उनीहरुलाई गिज्यायो कि भन्नेमा अहिले चर्चा परिचर्चा अवश्य छ ।
नेताहरुको सामाजिक मूल्य मान्यताको राजनीति गरे कि मात्र पद र प्रतिष्ठाका गरे भन्ने विषयमा घोत्लिएर समिक्षा गर्नुपर्ने देखिन्छ । होइन भने जनभावना विपरितको पद र प्रतिष्ठाले धुलेसात खाइरहँदा विपक्षीहरुलाई गाली गरेर गोडा न्यानो पर्ने खतराले सार्थकता दिनेवाला छैन ।
नेकपा एसका जिल्ला उपाध्यक्षको गृह वडा, माओवादी केन्द्र र राजमोका नेताहरुको जो जिल्ला र केन्द्रिय तहसम्मको उपस्थिति रहेको वडामा यो हार मान्य छैन र होईन । यसले नेताहरुको शाख पनि जोगिएन ।










