ढोरपाटन नगरपालिकको वडा नं. ४ हुन्द्रफेदी स्थित लुकुरवनखोलामा मोटरेवल पुल निर्माण सम्पन्न भएको छ ।
कर्ण-प्रदिप-जुम्ली जेभि बुटवलले २०७६ मंसिरमा संझौता गरि २०७८ बैशाख मसान्तसम्म निर्माण सम्पनन गर्नुपर्ने २५ मिटर लामो पुल, कोभिडका कारण केही ढिलाई भएको निर्माण कम्पनीका ठेकेदारे नविन गुरुङको भनाई छ । ३ करोड ६६ लाख ५६ हजार १ सय ६६ रुपैयाँ (भ्याट) सहितको लागतमा पुल निर्माण भएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना मार्फत वजेट व्यवस्थापन भई जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार बागलुङको मातहतमा योजना निर्माण भएको हो ।
हुन्द्रफेदीमा मोटरेवल पुल निर्माण पछि बागलुङ पश्चिमका जनतालाई ठूलै राहत मिलेको छ । सिंगो खुँगा र त्यसआसपासका क्षेत्र, तमानखोला लगायतका स्थानमा आवतजावत गर्ने जनतालाई यो पुल बन्नु एक महत्वपूर्ण विकास भएको वडा नं. ४ का वडा अध्यक्ष तिलक पुनको भनाई छ । ‘जनताका यस्ता कथा, व्याथा र समस्याहरु यहाँका नेता बोल्छन् । राजनैतिक तहमा मुद्धा हुन्छन् । निर्वाचनका मसला हुन्छन् । दुःख र दर्दका भोगाइमा निचोरिएका जनताका भावना हुन्छन् । त्यसमध्येको एउटा सवाल थियो । ढोरपाटन नगरपालिका वडा नं. ४ स्थित हुन्द्रखोलाको पुल ।’ पुनले बताउनुभयो ।
मोटरबाटो समेत गाउँठाउँमा गतिलोसँग नपुगेको अवस्थामा पुल र वसपार्कमा सपना बाँड्ने राजनैतिक मसलामा यो पुलको कुरा कम रोचक थिएन । तर, विधि, प्रक्रिया र पद्धतिले प्राप्त गरेको विकासेगतिलाई सबैले आत्मबोध त्यत्तिबेला गर्छ जव त्यो कामको फत्ते हुन्छ । स्थानीयमा पुल निर्माणपछि ठूलै युद्ध जितेजस्तो महसुस भइरहेको बताउँछन् । हुन्द्रफेदीको लुकुरवनखोलामा करिव दुई वर्षपछि निर्माण सम्पन्न भएको छ ।
मोटरेवल पुल नजिकै रहेको ट्रस पुलबाट मोटरसाईकल तार्नेहरुको जीवन पीडा, दुर्घटनाका अनेकौं सवाल त्यहाँले स्थानीयले नजिकबाट बेहोर्नुभएको थियो ।
तमानखोला, खुँगा, म्याग्दीसम्मको यात्रा तय गरेर आएकाहरु अफ्ठेरो ट्रस पुलको मुखबाट दुर्घटनामा परेर आफैले अस्पतालसम्म लैजाने गरेका अनेकन कथाहरु स्थानीय भिम पुनको स्मृतिमा छन् । खोलामा गाडि फसेर निकाल्न नसकी, त्यही खोलामा गाडि छाडेर हुन्द्रफेदीमा बास बसेका गाडि चालकहरुको पीडा उहाँका आँखामा उत्तिछन् । स्थानीयको सहयोग जहाँपनि रहने गरेको उहाँ बताउनुहुन्छ । आफ्नो काम छाडेर भएपछि यहाँका स्थानीयले यातायातका सवारी खोलामा फस्दा वा अफ्ठेरोमा मोटरसाईकल तानेर ट्रस पुलमाथि उकाल्दा आफै जस्तो गरि सहयोग गरिरहेका थिए । अव पुल निर्माण भएपछि, विगतका दुर्घटना नहोलानु भन्ने खुसीमा पुनले खुसी व्यक्त गर्नुभयो ।
सडकको पहुँचले विकट र दुर्गम भनिएको तमानखोला र त्यसभेगका थुपै्र गाउँहरुमा अहिले स्थानीय पालिकाको वजेटबाट सडक पुगेको छ । त्यससँगै बुर्तिबाङदेखि बोंगादोभानसम्मको करिव ९ किलोमिटर सडक ग्राभेल भएको छ । हुन्द्रको लुकुरवनखोलामा पुल निर्माण सम्पन्न हुँदै गर्दा उता तमानखोलाको भालिवाङ खोलामा समेत पुल निर्माणले तीव्रता पाएको छ ।
यि दुईवटै पुल निर्माण भएमा तमानखोलाको विकटता छोटिने छ । खुँगाहुँदै तमान लाममेला जाने सवारी यहाँको पुलनिर्माण पछि सिधै पुग्न सक्ने भएका छन् ।
भौगोलिक जटिलताले सडक विस्तार भएपछि सहज अवस्थामा असहजता थप्ने स्थानीय खोला हुन् । जहाँ अझै धेरै पुलहरुको खाँचो छ । हुन्द्रखोला र भालिवाङ खोलामा पुल निर्माण सम्पन्न भएपछि धेरै राहत पाउने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा बताउनुहन्छ ।
यत्तिले मात्र तमानखोलाको सडक सहजता आउँदैन । तमानखोलाका जनतालाई सडक सहजताका लागि त्यहाँका थुप्रे खोला घाटमा सडक पार गनै मोटरेवल पुल चाहिन्छ ।










