अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम

अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम
२०८१ माघ २६ गते शनिवार १०:३८

पोखरा माघ २६/ स्याङ्जा अपाङ्ग समाजको आयोजना र सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग तथा कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत...

पोखरा माघ २६/ स्याङ्जा अपाङ्ग समाजको आयोजना र सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग तथा कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेतीसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले अपाङ्गता भएका व्यक्तिहरुको लागि यस्ता सिप मूलक कार्यक्रम गर्दै विभिन्न क्षेत्रको क्षमता विकासमा समेत ध्यान दिनु पर्ने कुरामा जोड दिइन ।सोही अवसरमा उनले स्थानीय तहले माथिल्लो तहका सरकार, सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिको क्षमता विकास र हकअधिकार स्थापित गर्न लागि परेको बताइन ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले कृषि प्रधान देशमा अपाङ्गता भएका व्यक्तिहरुको लागि जिविकोपार्जनको लागि यस किसिमको कार्यक्रम अनुकरणीय रहेको र सिकेको सिपलाई जीवन उपयोगी बनाउँदै कृषिको विविधिकरण,व्यवसायिकरण र आधुनिकरणमा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकास बि।क। , प्राविधिक सहायक विनिता शर्मा र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थीहरुले तरकारी खेतीसँग सम्बन्धित विविध क्षेत्रमा सहजिकरण गरेका थिए ।

सो कार्यक्रममा विभिन्न क्षेत्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम समापन पश्चात् कृषिऔजार, बीउ र आवश्यक अन्य सामाग्री वितरण गरिएको थियो । अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीले शुभकामना मन्तव्य राख्दै समुदायमा सरल र सहज ढंगबाट अपाङ्गता भएका व्यक्तिहरुले जीवनयापन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

 

प्रकाशित मिति २०८१ माघ २६ गते शनिवार १०:३८
प्रतिक्रिया दिनुहोस्