पोखरा फागुन २७/ स्याङ्जा सदरमुकाममा २ दिने विपद् व्यवस्थापन सम्बन्धी सचेतना एवम् न्युनतम मानविय सीप विकास कार्यक्रम भएको छ । सिंह शार्दुल गण आँधिखोला ब्यारेकको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालय स्याङ्जामा सो कार्यक्रम सुरु भएको हो । मंगलबार सो कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले विपद् भन्ने कुरा जति बेला पनि आईलाग्ने भएकाले त्यस सम्बन्धी सम्बन्धीत सबै हर बखत् सचेत रहनुपर्ने कुरा औंल्याए । उनले आम जन समुदायमा यस्ता कार्यक्रमहरुले विपद् व्यवस्थापन सम्बन्धी सचेतना जगाउने र न्युनतम मानविय सीपको विकास गर्ने बताए ।
सो अवसरमा सिंह शार्दुल गुल्म आँधीखोला ब्यारेकका गुल्मपती सेनानी बल बहादुर आले, पुतलीबजार नगर पालिकाका शिक्षा अधिकारी बाबुराम बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा न १ का अध्यक्ष उत्तम प्रसाद श्रेष्ठ, शिक्षक अभिवावक संघका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य करुणा पौडेल क्षेत्री, ब्यारेकका क्याप्टेन तथा सिपाही तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो भने विद्यालयमा अध्ययनरत २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक प्रेम प्रसाद पौडेलले स्वागत एवम् कार्यक्रम सञ्चालन शिक्षक बिष्णु प्रसाद पोखरेलले गरेका थिए ।










